धनगढीमा नयाँ पिसिआर मेसिन जडान भएपछि परिक्षण बढ्यो, २४ घण्टामा ८८९ जनाको कोरोना परीक्षण
2020/08/14, 2:52
 
corona

धनगढी प्रयोगशालालमा नयाँ पिसिआर मेसिन जडान भएपछि परिक्षणको दायरा वढेको छ । यसअघिसम्म दैनिक सवैभन्दा वढी चार सय जनाको कोरोना परिक्षण हुदैं आएको थियो । तर मेसिन जडान थप भएपछि पछिल्लो २४ घण्टामा ८८९ जनाको कोरोना परीक्षण गरिएको सेती प्रादेशिक प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले जानकारी दिए ।

यो संख्या अहिलेसम्म २४ घण्टामा गरिएको परीक्षणको सर्वाधिक हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आठ सय ८९ को परिक्षण गर्दा चार जनामा मात्रै संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा आठ सय ८९ जनाको कोरोना परीक्षण गरिएकोमा एक महिला र  तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको बताए। उनीहरु सबै जना अछामका हुन् ।

सूचना अधिकारी श्रेष्ठले अछामको साफेबगर नगरपालिका वडा नम्बर ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुई जना, साफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ७४ पुगेको छ ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।