पुरुषको मृत्यु : सई जिल्ला तानिए, आफन्तले शव बुझे
2020/08/14, 4:41
 
Fight

कैलालीमा प्रहरी हिरासतमा मृत भेटिएका पुरुषका आफन्तले शव बुझेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा घटनाको निष्पक्ष छानविन गरी वास्तविकता बाहिर ल्याउने सहमती भएपछि मृतकका आफन्तले शव बुझेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले सीमा प्रहरी चौकी बहुलियामा मृत भेटिएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द शव आफन्तले बुझेको बताए।

उनले घटनाको छानविन गरी वास्तविकता पत्ता लगाएर आवश्यक कानूनी प्रक्रिया थाल्ने समझदारीपछि आफन्तले शव बुझेको बताए। गत मंगलबार राती पक्राउ गरेर सीमा प्रहरी चौकीले थुनामा राखेका चन्द घाटी रेटिएको अवस्थामा बुधबार बिहान मृत भेटिएका थिए।

प्रहरीले उनी चौकीको शौचालयमा लडेको अवस्थामा भेटिएको बताउँदै आएको छ भने शौचालयमै ब्लेड समेत भेटिएकाले चन्द आफैैले घाँटी रेटेको दावी गरिएको छ।

तर मृतकका आफन्तले भने घटनाबारे प्रहरीले जानकारी नदिएको, मृत्यु भईसकेपछि जबरजस्ती जाहेरी दिन लगाएको लगायतका कारणबाट घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।

बीहिबार चन्दको प्रहरी हिरासत भित्रै हत्या भएको भन्दै स्थानीयले सीमा प्रहरी चौकीमा प्रर्दशन समेत गरेका थिए। 

यसैबीच, घटनापछि सीमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक जंगबहादुर सिंह जिल्ला तानिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले ईन्चार्ज सिंह सहित दुईजना प्रहरीलाई जिल्ला तानिएको बताए। अर्का प्रहरी जवान हुन्।

उनले इन्चार्ज सिह र घटना भएका बेला डिउटीमा रहेका जवानलाई जिल्ला तानेर छानविन भईरहेको बताए। उनको ठाउँमा प्रहरी नायब निरिक्षक गोपाल सार्कीलाई पठाईएको छ।

घटनाको छानविनका लागि सु.प. सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन समेत गरिएको छ।

प्रदेश प्रहरी कार्यालयले एसपी बस्नेतको संयोजकत्वमा समिति गठन गरेको हो। उक्त समितिले घटनाको छानविन गरी प्रतिवेदन बुझाउने छ।