बाजुरामा कोल्टीमा एक महिनादेखि विद्युत सेवा अवरुद्ध
2020/08/16, 11:09
 
bidhut

बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत एक महिनादेखि अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९ सय घरपरिवार प्रभावित भएका छन् । विद्युतको नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महीनादेखि विद्युत सेवा अवरुद्ध भएको हो ।

पहिरोले नहर भत्काउन थालेकाले विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । लामो समयसम्म विद्युत अवरोध भएपछि बजारमा सञ्चालन हुने विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प हुनुका साथै कोल्टी बजारमा सञ्चालन भएका इलेक्ट्रोनिक पसलसम्म कामकाज गर्न असहज भएको छ ।

नहर बनाउन कामदार लगाएर बनाएको विद्युत चलाएको एक दुई दिन नबित्दै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक पटक यसरी नहर बिग्रिने गरेको बूढीनन्दा ३ का धन बोहराले बताए । समिति र गाउँले मिली नहर बनाएर विद्युत सञ्चालनमा ल्याए पनि पहिरो आएर नहर पुरिएकाले सञ्चालनमा ल्याउन सम्भव नभएको बड्डीगाड लघु जलविद्युतका व्यवस्थापक ध्रुव रेग्मीले जानकारी दिए । रासस