निरन्तरको वर्षाले कैलालीमा तरकारी नष्ट
2020/08/16, 3:36
 
tarkari

लामो समयदेखि तरकारी खेती गर्दै आएका कैलालीको टीकापुर–बनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठाजमिनमा लौका रोपे। लौकाको लहरा झाँगिदै गई फुलसँगै फल लाग्ने तयारीमा थियो। सोही लौकाबारी यही साउन १४ गते आएको बाढीले डुबान भयो। 

निरन्तर साउन महिनाभरी वर्षा भइरहेपछि फल्न थालेको लौकाबारी सबै सडेर नष्ट भयो। “अहिले मेरो तरकारी बारीमा लौकाको बोट पनि रहेन, सबै सडेर नष्ट भयो,” उनले भने, “यस सिजनमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन्थ्यो, वर्षातको समयमा तरकारीको राम्रो मूल्य पाइन्थ्यो, सबै सडेर नष्ट भया।”

खुशीराम लौका खेतीमात्र नभइ काक्रा, बोडी, चिचिन्डालगायतका तरकारी खेती नष्ट भएको गुनासो गरे। “वर्षा निरन्तर भइरहँदा तरकारी खेती नष्ट भयो, लाखौँको लागनी खेर गएको छ”, उनी भन्छन्, “हाम्रो पुरै परिवार यही पेशाबाट धानिएको छ। खेती नष्ट भएपछि काम पनि छैन, आम्दानी पनि छैन। उत्पादन लिने बेला नोक्सान भयो।”

बनगाँउकै किसान मानबहादुर चौधरीले पनि दुई कठ्ठा क्षेत्रफलमा लौकालगायत अन्य तरकारी  रोप्नु भएको थियो । फलिरहेको उक्त तरकारी वर्षाले डुवान हुँदा सडेर नष्ट भयो। बजारमा तरकारीले राम्रो मूल्य पाइरहेको बेला वर्षात्को पानीले डुबान हुँदा धेरै घाटा भएको उनले बताए। “फल्न थालेको तरकारी नष्ट भयो। लौकामात्र नभइ, काक्रा, बोडी र चिचिन्डा खेती खत्तम भयो”, मानबहादुर भन्छन् “अहिले लौका बजारमा सय रुपैया किलो बिक्री हुन थालेको छ। हामीले कमाउने समयमा नष्ट भयो, जसले जिविकामा समस्या भएको छ।”

गाउँघरमै आएर राम्रो मूल्य दिने थोक तथा अन्य उपभोक्ता आए पनि तरकारी नै नभएको किसानले बताउन थालेका छन्। जानकी गाउँपालिका–३ सुर्वणपुरका किसान रामकृष्ण चौधरीले एक विघामा लगाएको तरकारी नष्ट भएको बताए। व्यवसायिकरुपमा उत्पादन गर्ने किसानका तरकारी बाली वर्षात् र डुबानले नष्ट हुँदा अहिले बजारमा तरकारकिो मूल्यमा वृद्धि भएको छ।

तरकारीको उत्पादनमा कमी हुँदा बजारमा तरकारी अभाव भएको छ। यस्तो लकडाउनका समयमा अन्य जिल्लाबाट तरकारी ल्याउँदा महङ्गो पर्ने गरेको तरकारी व्यवसायी गोपाल गुप्ता बताउँछन् “स्थानीय तरकारी अलि सस्तो पाइन्थ्यो, बिक्री पनि सस्तोमा ग¥थ्यौँ। अहिले त हरियो तरकारी सबै महँगो छ।”

तरकारी खेती नष्ट हुँदा किसानमात्र मर्कामा परेका छैनन्। यहाँका उपभोक्ताले पनि महँगोमा तरकारी किन्नुपर्ने वाध्यता भएको छ। “गतवर्ष यो सिजनमा काक्रा, बोडी, भिन्डी, चिचिन्डाजस्ता तरकारी फालाफाल हुन्थे, हामी नयाँ तरकारी खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो”, उपभोक्ता बन्दना जैसीले भने, “यस वर्ष तरकारी किन्न सकिन्न। एक किलो तरकारी १०० भन्दा कममा कुनै पाइन्न। तरकारी किनेर खान सक्ने अवस्था छैन।”

तरकारी उत्पादक किसान स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी राहत दिनुपर्ने माग गर्न थालेका छन्। बाढी र डुवानले क्षति भएकालाई सरकारले राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको उनीहरुको माग छ।