धनगढीमा १८८ सवारी साधन कारवाहीमा
2020/08/18, 7:59
 
corona

कोरोना संक्रमण फैलिन नदिन जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने सरकारी निर्णयलाई कडाई गर्दै प्रहरीले कैलालीमा सवारी चेकजाँचलाई कडाई गरेको छ ।  संघीय सरकारले जोर बिजोरमा यातायात सञ्चालन गर्ने गरी योजना निर्माण गरेको एक सातापछि कैलालीमा सो निर्णयको कडाईका साथ पालना गराउन प्रहरीले ठाउँ ठाउँमा चेकजाँच थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार देखि जोर बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउन ठाउँ ठाउँमा सवारी चेकजाँचमा कडाई गरिन थालिएको छ । सरकारी नियमको पालना नगरेको भन्दै धनगढीमा एक सय ८८ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन नचलाउनेलाई कारबाही गरेको जनाएको छ ।

‘सोमवार बिजोर अंकका साधन चल्नुपर्ने हो जोर अंकमा साधन चलेपछि हामीले कारबाही गरेका हौँ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीले भने । क्यापस चोक,चौराहा र रातोपुलमा चेकजाचको क्रममा उनीहरु कारबाहीमा परेको ठकुराठीले बताए । ट्राफिक प्रहरीले सवारी साधनलाई एक सय रुपैया जरिवाना गराएको जनाएको छ । उनीहरुबाट १८ हजार आठ सय रुपैया राजश्व सकलन भएको छ ।