शिक्षकबाट अवकाश भएपछि व्यावसायिक तरकारी खेतीमा
2020/08/18, 8:17
 
tarkari

जगदीश रोकाया- बझाङ छविसपाथीभेरा गाउँपालिका–३ पाटागाँउ घर भएका हर्कबहादुर सिंह शिक्षकबाट अवकाश (रिटाएर) भएपछि अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उनले आफ्नो जमिनमा मौसमी तथा बेमौसमी तरकारी लगाएर यहाँका नमुना किसानका रूपमा परिचित हँुदैछन् । उनले फलाएको तरकारी अहिले यस गाउँपालिका केन्द्र तथा स्थानीय बजारमा बिक्री हुने गरेको छ ।

गत वर्ष स्थानीय गाउँकै विद्यालयबाट निवृत्तिभरण भएका शिक्षक सिंहले गाँउमा केही उदाहरणीय काम गर्नुपर्छ भनेर तरकारी खेती अँगालेको बताए । उनले भने गाउँका मान्छेहरू कामकाज छैन रोजगारी छैन भनेर भौँतारिरहेका हुँदा उनीहरूलाई पाठ सिकाउन व्यावसायिक तरकारी खेती अँगालेको बताए । उनले अहिले तीन वटा टनेलमा बेमौसमी गोलभेँडा (टमाटर) फलाएका छन् ।

2

उनको बारीमा गोलभेँडा (टमाटर), भन्टा, सिमी, मुला, प्रशस्त फलेको देख्दा र तरकारीले बजार पाएर सिंहको परिवारले पैसा कमाएको देख्दा अरू परिवारलाई पनि गाउँ घरमै केही पेसा व्यवसाय गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण भएको छविस पाथीभेरा गाउँपालिकाका अध्यक्ष कक्कल बहादुर धामीले बताए । अवकाश (रिटायर) शिक्षकले यस्तो मेहनत गरेर तरकारीमा अगुवाइ गर्दै गएपछि अहिले उनलाई स्थानीय तह तथा अन्य संघ संस्थाले पनि तालिम तथा अन्य कृषि सामाग्री दिने गरेका छन् ।

शिक्षक पेसामा रहँदा पनि नमुना शिक्षकका रूपमा परिचित हर्कबहादुर सिंह पदबाट अवकाश (रिटाएर) हुँदा पनि नमुना किसान भएर काम गर्ने योजना भएको उनले बताए । उनले पहल गरेको व्यावसायिक तरकारी खेतीमा उनका घर परिवारले पनि सघाइरहेका छन् ।