साहसी स्वास्थ्यकर्मी, जसले हिलाम्य सडक छिचोलेर बोक्दै छन् ‘स्वाब’
2020/08/18, 9:00
 
corona

पछिल्लो समयमा डडेल्धुरा सदरमुकाममा रहेका सडकको फोटो सामाजिक संजालमा निकै चर्चामा छन् । हिउँदको समयमा धुलाम्मे हुने सडक वर्षातको समयमा हिलाम्मे हुने गरेको कारणले पनि चर्चामा आउने गर्दछन् । पहाडी जिल्लाको ‘हिल स्टेशन’ का रूपमा परिचित जिल्ला सदरमुकामका सडकमा नै नाली नहुँदा सडकमा पानी बग्ने गरेको कारण सामाजीक संजालमा पानी जहाज चल्ने सडक भनेर भाइरल समेत गरिएको छ ।

जिल्ला सदरमुकामा रहेको सडकको चर्चा चुलिँदै गर्दा डडेल्धुरामा आइतबार एकाएक दिनभरी ग्रामीण सडकको चर्चा सामाजिक सञ्जालमा निकै चल्यो । सडकको चर्चा चल्नुको कारण थियो, त्यही हिलाम्मे सडकमा एक जना स्वास्थ्यकर्मी ‘स्याम्पल कलेक्सन’ गर्ने भाँडो (क्यारियर बक्स) बोकेर मोटरसाइकलमा यात्रा गर्नु । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको पोखरा–बेलापुर सड कखण्डमा यात्रा गरिरहेका व्यक्ति थिए नवदुर्गा स्थित चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रेम साउँद हुन् ।

चारैतिर हिलाम्य ग्रामीण सडक हिलोमा फस्नै लागेको मोटरसाइकल । खुट्टामा चप्पल, चप्पल भरी हिलो । टाउकामो हेलमेट, कानमा मोबाइल, एक हातमा घडी र घाँटीमा झुण्ड्याएको क्यारियर बक्स बोकेर उनी जिल्ला सदरमुकामतिर आईरहेका थिए ।  देशमा कोरोना संक्रमणको जोखिम बढेसँगै पहाडी जिल्लाका स्वास्थ्यकर्मीले हिलो, पहिरो र बाढीको जोखिम मोलेर काम गर्दै आइरहका समयमा हिलाम्मे सडकमा यात्रा गर्ने साउँदको रहर नभएर बाध्यता थियो ।

ग्रामीण क्षेत्रका कच्ची हिलाम्य सडकमा एक्लै खाली हात हिँड्न त हम्मेहम्मे हुन्छ भने फोर आइस प्याक क्यारियर बक्सभित्र कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाबलाई घाँटीमा झुण्ड्याएर हिँड्नुपर्ने उनको बाध्यता थियो । नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी साउँद हिलाम्य सडकमा जोखिम मोलेर ४७ जनाको कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब बोकेर सदरमुकाम आएका छन् ।

‘डिप फ्रिज’ नभएकोले जोखिम मोलेर डडेल्धुरा पुगे
संकलन गरिएको स्वाब राख्नका लागि गाउँपालिकामा आईस प्याक अथवा डिप फ्रिज नभएको र सबै स्थानमा स्वाब राख्न नसकिने हुँदा जोखिम मोलेरै भए पनि डडेल्धुरा अस्पताल पु¥याउनुपर्ने बाध्यता भएको कारण सदरमुकाम आएको उनी बताउँछन् । एक जना ल्याब असिस्टेन्टको भरमा नवदुर्गा गाउपालिकाका ५ वटै वडामा स्वास्थ्यकर्मी साउँदले स्वाब संकलन गर्दै आएका छन् । गाउँपालिका सबै वडामा स्वास्थ्यकर्मी भएपनि नवदुर्गा गाउँपालिकाको स्थानीय व्यक्ती भएकोले स्वाब संकलनका लागि उनी सबै वडामा पुग्ने गरेका उनको भनाइ छ ।

‘जागिर खाएको पनि ७÷८ वर्ष भयो । नवदुर्गा गाउँपालिकाकै स्थानीय भएकोले सवै बडामा स्वाब संकलनका लागि सहयोग गरिरहेको छु,’ उनले भने । साउँद कार्यरत नवदुर्गा गाउँपालिका ५ स्थित चामा स्वास्थ्य चौकीमा रहे पनि उनले केही दिन अघि हिलोमा जोखिम मोलेर बोक्दै गरेको स्वाव भने मणिलेक स्वास्थ्य चौकीमा संकलन गरिएको थियो । वर्षातको समयमा सडक हिलाम्य अवस्थामा रहेका छन् सबै ठाँउमा एम्बुलेन्स जान सक्ने अवस्था छैन । त्यसकारणले पनि संकलन गरिएको स्वाबलाई जसरी पनि डडेल्धुरा अस्पताल पु¥याउनुपर्ने हुन्छ ।

कैयौँ स्थानमा मोटरसाइकल पनि हिलोमा फँस्दा अन्य व्यक्तिसँग सहयोग मागेर हिलोबाट पार गराउनु पर्ने हुन्छ,’ उनले भने, ’यो सबै गाउँपालिकाभित्र कोरोना संक्रमण फैलिन नदिनका लागि गरिरहेको छु ।’ ‘१०÷१२ वर्ष पहिले घर छोडेर कोही बसाइँ सरेका त कोही भारतमा नौकरी गरि उतै वसोबास भएका व्यक्ति पनि कोरोनाका कारणले गाउँ फर्किएका छन’ उनले थपे, ‘उनीहरूका घर जीर्ण अवस्थामा रहेका छन् । अरूको घरमा बास बसाउँदा कोरोना संक्रमण हुने डर भएकाले पनि जतिसक्दो चाँडो स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरेका छौँ ।’ यो खबरलाई शेर भण्डारीले शिलापत्रमा लेखेका छन् ।