पहिरो पीडितको सडकमा बास, भन्छन्ः कहिलेसम्म पालको सहारा ? 
2020/08/18, 10:07
 
pahiro

शेरबहादुर ऐर- कैलालीको चुरे गाउँपालिका ५ पट्रेनीका नरभान धामी एक सातादेखि पालमुनि बसिरहेका छन । वडा नम्बर ५ कै सडक छेउमा बेल्चप्लान भन्ने स्थानमा नेपाल रेडक्रस सोसाईटी कैलालीले उपलब्ध गराएको पालमुनि उनी बसेका छन् ।  साउन १७ गते (शुक्रबार) राति उनको घरको छेउबाटै पहिरो गएपछि उनी विस्थापित भए । भन्छन्, ‘पहिरोले बस्ती नै जोखिममा छ । अहिले रेडक्रस सोसाइटीले दिएको पालको सहारामा सडक छेउमै बसेको छु ।’

उनी दिनभरि बस्तीमा आफनो खेतबारी र पशु चौपाया हेर्न जान्छन् भने रात परेपछि सपरिवार त्यही पालमुनि बिताउँछन् । सोही वस्तीका अर्जुनबहादुर धामी पनि वर्षा नसकिएसम्म पालमै बस्ने तयारीमा छन् । उनले भने, ‘पानी प¥यो कि पहिरोको जोखिम छ । बस्तीमा बस्न सक्ने अवस्था रहेन। त्यसैले वर्षात नसकिएसम्म यही सडकमा बस्छौं ।’

स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा २५ घर परिवार सडक छेउमा पाल टाँगेर बसिरहेका थिए । थप चार परिवार पाल टाँग्ने तयारीमा थिए । कोही त्यही पालमुनि बस्न आवश्यक कपडा ल्याउदै थिए । सोही बस्तीका जग्गो धामीको घर पनि पहिरोले बगायो । उनी पनि विस्थापित भए । उनको ५ जनाको परिवार छ । उनले भने, ‘पहिरोले घर लग्यो। अहिले त्यहाँ बस्न सक्ने अवस्था छैन । सरकारले पनि हाम्रा बारेमा सोचेको छैन ।’

चुरे गाउँपालिकाका काँग्रेस नेता गोपाल शाहले गाउँपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७७÷७८ को सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाले पहिरो पीडितको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिए। उनले भने, ‘गाउँपालिकाका अधिकांश बस्ती अहिले पहिरोका कारण जोखिममा छन्, कतिपय वस्ती अहिले विस्थापित भइसकेका छन् । तर, गाउँपालिकाले उनीहरुको उचित वसोबासका विषयमा ध्यान दिएको छैन ।’

2

सडकमै रात बिताइरहेका यकम थापा मगरले पालमुनि बस्न असहज भएपनि पहिरोबाट बँच्न सडकमा आएर बस्नुपरेको दुःखेसो गरे । उनले पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्थापन गर्नुपर्ने माग गरे। रेडक्रसबाट उपलब्ध गराइएको पाल देखाउँदै उनले भने, ‘यो पालले केही दिन त यही बसोबास गर्न सकौला तर, भोलि कसरी त्यही बस्तीमा फर्कने ?’ 

वस्तीमा बसेयता बाढी तथा पहिरोको समस्या नझेलेका उनी यस वर्षको लगातारको वर्षाका कारण पीडित भए । सोही वडाका धौले बोहराले भने, ‘माथि र तल दुवैतिरबाट पहिरो गइरहेको छ ।’ उनले सबैतिरबाट पहिरो गएपछि सडकको बास भएको बताए । २०५२ सालमा पहिरोका कारण सोही वस्ती बगाएको थियो । त्यतिबेला त्यहाँका बासिन्दा खुटियामा गएर बसेका थिए ।  उनले बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन आग्रह गरे ।

2

पट्रेनीका २९ घरका एक सय ५१ जना विस्थापित भएको चुरे गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले बताए । उनले भने, ‘अहिले पुरै घरपरिवार त सडकमै बसोबास गर्न आएका छैनन् । हामीले जानकारी पाएसम्म २७ घर परिवार त्यहाँ (बेल्चप्लान) सडक छेउमा पाल टाँगेर बसेका छन् भने अन्य घर परिवार पनि आउने क्रम जारी छ ।’ उनले वडा नम्बर ५ का पट्रेनीसँगै राजवन र गुणीगाउँको वस्ती पनि विस्थापित भएको बताए । उनले भने, ‘बस्ती स्थानान्तरण नगरेसम्म समस्या समाधान हुँदैन ।’