दुई बालक मृत्यु घटनाः आफन्तले शव बुझेनन्, क्षतिपूर्ति माग गर्दै आन्दोलन
2020/08/18, 10:31
 
death

सडकको खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । सोमबार अपरान्ह खाल्डोमा डुबेर मृत्यु भएका दशरथचन्द नगरपालिका २ देहीमाडौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको  शव परिवारजनले बुझेका छैनन ।

सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर दुवै जनाको मृत्यु भएकाले आफन्तहरुले क्षतिपूर्तिको माग गरेका हुन । पीडित परिवारले २० लाख रुपैयाँ क्षतिपुर्ति माग गर्दै शव बुझ्न नमानेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।

होमपाइप राख्ने खाल्डोमा डुबेर दुई बालकको ज्यान गयो  देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको थियो । पीडित परिवारले निर्माण व्यवसायीसँग क्षतिपूर्ति माग गरेका हुन । क्षतिपूर्ति नदिँदासम्म आफूहरुले लाश नउठाउने उनीहरुको अडान राखेका छन् ।

मृतकका आफन्तहरुले क्षतिपूर्ति माग गरेपछि शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकका आफन्तहरुले क्षतिपूर्ति माग गरेपछि निर्माण व्यवसायी र मृतकका आफन्तहरूबीच छलफल हुने बताईएको छ ।  होम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षतको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार अपरान्ह साढे चार बजेतिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको थियो ।