मंगलवार भएको परीक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण देखिएको हो । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाको कोरोना परीक्षण भएकोमा ४६ जनामा संक्रमण देखिएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार संक्रमित सबै डोटी जिल्लाका हुन् । डोटीको पनि शिखर नगरपालिकाका मात्रै ४५ जना संक्रमित रहेका छन । जिल्लाको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुषलले बताए ।
एक जना संक्रमित दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का छन् । यता सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।