जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामूहिक रुपमा गौरा तथा तीज पर्व मनाउन रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै सामूहिक रुपमा सुदूरपश्चिमको महान पर्व गौरा र हरितालिका तिज नमाउन प्रशासनले आग्रह गरेको हो।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सामूहिक रुपमा गौरा तथा तीज मनाउँदा कोरोना संक्रमण फैलिने भएकोले जनस्वास्थ्यका मापदण्ड पूरा गरी घरभित्रै चाड पर्व मनाउन आग्रह गरेको छ। तीज आउनै लाग्दा कतिपय स्थानमा राति पनि डिजे बजाएर नाचगान गरिरहेको तथा गौरा पर्वमा भेटघाट जमघटले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस्तो गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ।
सार्वजनिक स्थलहरुमा मानिसको सामूहिक भेला, जमघट, भीडभाड हुने गरी मनाइने कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। जनस्वास्थ्यको मापदण्ड पालना गरेर परिवारका सदस्यसँग मात्र चाडपर्व मनाउन आग्रह गरिएको उनले बताए।