बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्। आज बिहान ६ बजेतिर घरभन्दा करीब २० मिटरमाथिबाट पहिरो खस्दा बीरबहादुर मडै, उनकी श्रीमति सुन्दरी मडै, छोरीहरु सरस्वती मडै र पार्वती मडै घाइते भएको रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले बताए।
घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको उनले बताए। घाइतेहरुको टाउको,छाती लगायतका शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ। बर्षातका कारण गाडी समेत नचलेकाले घाइतेहरुलाई स्थानीयहरुले स्ट्रेचरमा बोकेर अस्पताल लगेका छन्। घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। यस्तै सोही ठाउँका दिनेश मडै र रामबहादुर मडैको घर पनि पहिरोको जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
सुर्नया गाउँपालिका वडा नं ४ चाडी द्वालकाठाका अजी महरा र धौलसिंह महराको घर पनि पहिरोको जोखिममा परेको छ। घर तलतिर पहिरो खस्दा घरमात्रै बाँकी रहेको आँगन पहिरोले भत्काएकाले घर पनि पहिरोको जोखिममा परेको स्थानीय गणेशबहादुर महराले बताए।