बेपत्ता ११ जनाको खोजी कार्य जारी, १७ परिवारलाई सुरक्षित स्थानमा सारियो 
अछाम बाढी अपडेटः
2020/08/20, 11:45
 
badi

अछामकोे कैलाश खोलामा आएको बाढीले बगाउँदा बेपत्ता १७ मध्ये ११ जनाको खोजी कार्य जारी राखिएको छ । ६ जनाको शव फेला परेपनि ११ जना अझैसम्म वेपत्ता रहेका छन् ।

अछामको रामारोशन गाउँपालिका ४ का १२ वर्षीय नवीन साउद, वडा नम्बर ५ का अन्दाजी ३३ वर्षीय गौरी शाह र चन्द्र साउद मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिह थापाका अनुसार शव फेला परेका ६ जनामध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन ।

मृतक नवीन साउदको शव परिवारलाई बुझाइएको उनले बताए । ५ जनाको शव जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ । अझै ११ जना बेपत्ता रहेको उनले बताए । बेपत्ताको खोजिएका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयहरू खटिरहेका छन् ।

रामारोसन गाउँपालिकाका उच्च जोखिममा रहेका १७ घर परिवारका करिब ७० जनालाई सुरक्षित स्थानमा पु¥याईएको प्रहरीले जनाएको छ । उनीहरूलाई मल्लेख गाउँपालिका वडा नम्बर ५ स्थित नन्दा देवी आधारभूत विद्यालय र कैलेस्वरी प्राविमा राखिएको डिएसपी थापाले बताए ।