डोटीको दिपायल स्थित राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ जना कर्मचारी र जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत एक महिला तथा जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक महिला र २ पुरुष प्रहरीमा संक्रमण देखिएको हो । भदौ ३ र ४ गते परीक्षण गरिएका नयाँ १ सय ४७ नमुनाहरुमध्ये १८ नमुनाको नतिजा पोजिटिभ देखिएको हो । हालसम्म डोटीमा कोरोना संक्रमितको संख्या ८ सय १२ पुगेको छ ।
यसैबीच कोरोना संक्रमित बढ्दै गएपछि डोटीको शिखर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ । नगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबारबाट भदौ ११ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख सिताराम जोशीले जानकारी दिए ।