बिहिबार दिउँसोदेखि डोटी लगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटी सहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्ण रुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।”
सो प्रशासण केन्द्रका हाईटेन्टसनका पोलहरुमा बेला बेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलिफोन सेवा र एडिएसएल सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएका छन् । रासस