डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ८ मा निर्माण भइरहेको डोला चक्रपथमा वन फडानी भएको पाइएको छ। आलिताल गाउँपालिका अन्तर्गतको गोदाम बजारदेखि डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक वन क्षेत्रमा रहेका रुखहरू काटिएका छन्।
आलिताल गाउँपालिकाको समपूरक कोषअन्तर्गत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरू वन कार्यालयको अनुमतिबिना कटानी गरी गोलिया बनाएर लुकाइराखेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डवलबहादुर बोहराले जानकारी दिए।
शुक्रबार बेलुकासम्म ११० थान गोलिया बरामद गरिएको र बाँकी खोजी भइरहेको वन कार्यालयले जनाएको छ। रजनी सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त गोलिया बरामद गरिएको बोहराले बताए।
डिभिजन वन कार्यालयको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाइ रहेका एकजना र सोही वनका अध्यक्षलाई नियन्त्रणमा लिएको र शनिबारदेखि अनुसन्धान प्रक्रिया अगाडि बढाउने डिभिजन वन कार्यालयले जनाएको छ। सडक निर्माणका क्रममा अवैध रुपमा वन फडानी गर्नेमाथि अनुसन्धान थालिएको र दोषीमाथि कारवाही गरिने डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए।
गाउँपालिकाको समपूरक कोषअन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने करिब ६ किलोमिटर सडकखण्ड निर्माणका लागि उग्रतारा कन्सट्रक्सनमार्फत काम भइरहेको अध्यक्ष बलबहादुर गुरुङले बताए।
१ करोड ४५ लाखको कुल बजेटमध्ये ७७ लाखमा उग्रतारा कन्सट्रक्सनसंग ठेक्का सदर भएको थियो। २०७७ साल पुस सम्मा निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएकोमा अहिले भने बर्षातका कारण काम प्रभावित बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताए। वातावरणिय प्रभाव मुल्यांकल नगरेकाले वन फडानीको समस्या उत्पन्न भएको उनले स्विकार गरेका छन्।