बेलिब्रीज पुल बगाएपछि तुइनको सहारामा वारपार
2020/08/22, 7:27
 
badi

जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्ड जोड्ने बेलिब्रीज बगाएपछि विच्छेद बनेको पदैल यात्रा तुइन जडानसँगै जोडिएको छ।  पैदल यात्रा समेत रोकिएको अवस्थामा जडाङ्गा र ओलेनाका स्थानीयवासीले बुढीगङ्गा नदीमाथि तुइन जडान गरेर यात्रा सहज बनाएका हुन्। बेलिब्रीज बगाएकै स्थानमा स्थानीयवासीले तुइन जोडेर पैदल यात्रुलाई सेवा दिइरहेका छन्। जडाङ्गा र ओलेनका स्थानीयवासीले विहानदेखि बेलुकासम्म तुइनबाट सर्वसाधारणलाई वारपार गर्ने गरेका छन्।

बुढीगङ्गा नदीमाथि बनेको बेलिब्रीजबाट जाने आउने गरेका स्थानीवासी बेलिब्रिज बगाएपछि राजमार्गमा जान आउन निकै सास्ती हुने भएकाले सोही ठाउँमा तुइन जडान गरिएको स्थानीयवासीले बताएका छन्। तिपाडा क्षेत्रमा पुल भएपनि त्यहाँ पुग्न धेरै समय लाग्ने भएका कारण तुइनलाई नै सर्वसाधारणले प्रयोग गर्ने गरेका छन्। “तुइनको साहरामा नदी वारपार गर्नुपर्छ”, रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले भने।

तुइनको साहराबाट वारपार गर्दा कुनै पनि वेला मानवीय क्षति हुन सक्ने हुँदा स्थानीय तहलगायत सम्बन्धित पक्ष यस बारे गम्भीर हुनुपर्ने उनको भनाइ छ। तुइनको साहराबाट यात्रा गर्दा प्रतिव्यक्ति एकतर्फी ५० लिन गरिएको बताइएको छ।

काठेपुल बगाउँदा समस्या
गौमुल गाउँपालिका–३ गर्जेमा काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले पाँचभन्दा बढी काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको वडासदस्य सीता धामीले जानकारी दिएका छन्।  एकाएक आएको बाढीका कारण स्थानीयवासीको घट्ट र काठेपुलसहित दर्जन बढी बस्तीहरु जोखिममा परेका छन्। बाढीले घट्ट बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन्।

बाढीले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन्। “खेतबारीमा लगाएको अन्नबाली पूरै बगरमा परिणत भएको छ”, स्थानीयवासी सुरेश बोहराले भने, “काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ।” बाढीका कारण यहाँका बस्तीहरु जोखिममा परेको बताइएको छ। बाढीले पुल बगाउँदा एक गाउँबाट अर्को गाउँ तथा एक टोलबाट अर्को टोलसँगको सम्बन्ध विच्छेद भएको छ।