बाढीले साँफे–मार्तडी सडक अन्तरगत जडाङ्गास्थित बुढीगंगा नदिमा बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि अहिले सो ठाउँमा तुइनबाट आवतजावत हुने गरेको छ। स्थानीयले तुइनमार्फत बुढीगंगा नदी तरेको ५० रुपैँया तिर्नुपरेको छ।
अहिले सदरमुकाम आवतजावत गर्दा तुइन चढ्नुको विकल्प नभएकोले स्थानीय ५० रुपैया तिर्न बाध्य छन्। ‘जोखिम मोलेर तुइन चलाइरहेका छौ, त्यसैले प्रतिव्यक्ती ५० रुपैँया लिने गरेका छौं’ तुइन सञ्चालक स्थानीय गोरख बडुवालले भने। परिश्रम हेर्ने हो भने उक्त रकम पनि सस्तो भएको उनले बताए।
साउन २५ गते राति अविरल वर्षासंंगैे आएको बाढीले बेलिब्रिज र नजिकै रहेको झोलुङ्गे पुल बगाएपछी सो ठाउँमा आवत जावत गर्न स्थानीयको सक्रियतामा तुइन बनाएका हुन। १५/१६ जनाकोे समुह मिलेर सोे ठाउँँमा यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेवा दिएका हुन। तर तुइन मार्फत बिरामीलाई तराउन समस्या हुने गरेको सञ्चालक गोरख बडुवालले बताए।
बाढीले उक्त स्थानमा ५ वटा झोलुङ्गे पुल र एउटा बेलीबिज्र बगाएको थियो। साथै नदी किनारामा रहेका दर्जनौ घर र खेतियोग्य जमिन समेत बगेका थिए।