गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजा आजा गरी मनाइन्छ । मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरा सहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घर घरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहि आएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुव धागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।