नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपनि सुदूरपश्चिम प्रदेशमा भने पछिल्लो ३५ दिनयता कोरोना भाइरस संक्रमित फेला परेका छैनन । संक्रमित फेला नपरे पनि कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी सहित सिंगो सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको थियो ।
दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन गरिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोना भाईरसको आशंकामा बिरामीहरु आउने क्रम जारी रहेको छ । उनका अनुसार हालसम्म सेती प्रादेशिक अस्पतालमा ५६ जना शंकास्पद बिरामी रहेका छन् । उनले भने, ‘अहिले यो अस्पतालमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएका बिरामी भने छैनन ।’ उनले अहिले अस्पतालको आइसोलेसन वार्डमा तीन जना उपचारमा रहेको जानकारी दिए ।
पछिल्लो पटक सेती प्रादेशिक अस्पतालमा कोरोना आशंकामा भर्ना भएका कैलालीका पाँचै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अस्पतालका सूचना अधिकारी श्रेष्ठले कोरोना आशंकामा भर्ना भएका पाँचै जनाको धनगढी प्रयोगशालामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । आईतबार कोरोना भाइरस संक्रमणको आशंकामा कैलालीका पाँच जना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनीहरु मध्ये गौरीगंगा नगरपालिकाका २९ वर्षीय पुरुषमा ¥यापिड टेस्ट गर्दा एन्टीबडी देखाएको थियो ।
त्यस्तै कोरोना जस्तै लक्षण देखिएपछि आइतबार नै कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का ३० वर्षीय पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको थियो । यस्तै, धनगढीमा मंगलबार परीक्षण गरिएका ९० जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीका ५४, बझाङका १३, बाजुराका तीन, दार्चुलाका पाँच, बाँकेका एक, कञ्चनपुरका चार जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको आएको हो ।