पहिरोले ३५ परिवार विस्थापित, ७५ परिवार उच्च जोखिममा
2020/09/01, 8:50
 
corona

डडेलधुराको आलिताल गाउँपालिका–७ बलचौरमा चुरेबाट खसेको पहिरोका कारण ३५ परिवार विस्थापित भएका छन् । ७५ परिवार उच्च जोखिममा परेका छन् । पहिरोले गाउँका सातवटा घर पूर्ण क्षतिग्रस्त भएका छन् भने बाँकी घरमा पनि बस्न सकिने अवस्था छैन । अन्य पाँच वटा बस्ती पनि उच्च जोखिममा छन् । एक दशकअघि व्यापक वन फँडानी भएपछि त्यो क्षेत्रमा पहिरो जान सुरु भएको हो ।

यसपालि पनि साउन १८ यता निरन्तर जसो पहिरो खसिरहेको छ । स्थानीयका घरसँगै अन्नपात, लत्ताकपडा र अन्य सामान पनि पुरिएका छन् । ‘पीडितसँग खान–लाउन पनि केही बाँकी छैन,’ बलचौरका अमरसिंह धामीले भने, ‘गाउँमै रहेका परिवारले पनि त्रासमा बाँच्नुपरेको छ । सामुदायिक वनमा बसोबास गर्दै आएकाहरू पनि कुन बेला के हुने हो भन्ने त्रासमा छन् ।’ उनका अनुसार बालबालिका र वृद्ध वृद्धा बढी समस्यामा छन् ।

भदौ ३ यता गएको पहिरोका कारण ३५ परिवारले गाउँ छोडेर जंगलमा बस्नुपरेको स्थानीय दत्ते बोहराले बताए । ‘धेरै परिवारको घरमा क्षति भएका कारण उनीहरू नजिकै पाल हालेर बस्न थालेका छन्,’ उनले भने । ‘चुरेमा बलौटे माटो भएका कारण सानो वर्षा हुँदा पनि पहिरो खस्न सुरु हुन्छ,’ अर्का स्थानीय जयबहादुर महरले भने, ‘अहिलेसम्म पहिरोपीडितलाई सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था हुन सकेको छैन ।’ उनका अनुसार पीडितमध्ये धेरैजसो बालबालिकामा टाइफाइड जस्ता समस्या देखिन थालेको छ । ‘हामीले पूरै बस्ती सार्न सम्बन्धित निकायसँग माग गरेका छौं,’ महरले भने, ‘बलचौर सहित पाँचवटै बस्ती सुरक्षित स्थानमा नसारे कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ ।’

पहिरो पीडितलाई तत्काल रेडक्रस सोसाइटीले आवश्यक सामग्री सहयोग गरे पनि अहिलेसम्म स्थानीय तहले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न कुनै पहल नगरेको पीडितले गुनासो गरेका छन् । हरिनादेवी साउदले भनिन्, ‘गाउँपालिकालाई पटक–पटक आग्रह गरेका छौं तर अहिलेसम्म सुरक्षित स्थानमा राख्न कुनै पहल हुन सकेको छैन ।’ आलिताल गाउँपालिका प्रमुख बलबहादुर गुरुङले पहिरो पीडितका लागि आवश्यक सहयोग भइरहेको बताए । ‘तत्काल बस्ती सार्ने योजनामा काम हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘तत्काल पहिरो पीडितलाई राहत र सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।’