‘विदेशमा रोजगारी गुम्यो, स्वदेशमा उद्यमको बाटो खुल्यो’
2020/09/01, 1:11
 
bidesh bat aayer kaam suru

प्रदीप पाठक- कैलालीको धनगढी उपमहानगरपालिकाको फुलबारीकी तुलसी कार्की घर फर्किएको दुई महिना जति हुन लागेको छ । कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी उनले अब बिदेश नजाने अडान कसी सकेकी छिन् । सुरुमा दुई बर्ष र त्यसपछि एक बर्ष भिषाको समय थपेर तीन बर्षसम्म काम गरेर उनी घर फर्किएकी हुन् ।

1

विदेश बस्दा कमाएर बचाएको ५ लाखमै आफ्नो उद्यम सुरु गरेकी छिन् । विदेशमा गरेको दुःखले स्वदेशमा उनले आफ्नै काम थालेकी हुन् । फुलबारी बजारमा उनले फेन्सी पसल सञ्चालनमा ल्याएकी छिन् । पसल थालेको एक महिना जति पुग्न थालेको छ । विदेशमा गएर दुःखहरु भोग्नुभन्दा आफ्नै घरमा वसेर काम गर्न पाउँदा कार्की मात्रै होईन उनको परिवार पनि खुशी छ । विदेशमा तीन बर्ष काम गरियो । ‘अहिले आएर भिषा पनि थपिएन्, त्यही भएर घर फर्किए ।’ उनले भनिन–‘अब विदेश जादैन् । जे काम गरेपनि अब घरमै गर्छु । सवै जनालाई आफ्नै ठाउँमा सानोतिनो काम गर्न आग्रह गर्दछु ।’

1

कोरोनाको महामारीका कारणले विश्वको अर्थतन्त्र धर्मराएको छ । लाखौंको रोजगारी गुमेको छ । नेपालको पनि मुख्य अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स हो । तर वैदेशिक रोजगारीमा गएकाहरु रोजगारी गुमेसँगै घर फर्किन थालेका छन् । सुदुरपश्चिमका एक हजारभन्दा बढी जना वैदेशिक रोजगारीका लागि घर गएकाहरु फर्किएका छन् ।

अव उनीहरुले विदेशमा नजाने निर्णय गर्दै आफ्नै ठाउँमा काम गर्ने अठोट गरेका छन् । विदेशबाट फर्किएकाहरुमध्ये कतिपयले आफ्नै ठाउँमा आफ्नो व्यापार व्यवसाय सुरु गरेका छन् भने कतिपय त्यसको तयारी गरिरहेका छन् । लकडाउनका कारण भिषाको समय सकिएर फर्किएकाहरु पनि उद्यम गर्न नसकेमा पनि अव आफ्नै ठाउँमा काम गर्ने मनसायमा छन् ।  

6

कैलालीको घोडाघोडी नगरपालिका श्याम चौधरी दुवईबाट आएको दुई महिना भएको छ । तर उनले विदेशबाट फर्किएर पनि आरामले बस्न पाएका छैनन् । ११ बर्षको विदेश वसाईले कमाएको धनले साँडेपानी बजारमा दुई तले घर बनाई सकेका छन् उनले । त्यही घरको अगाडी रहेका सटरहरुमा र्याक काउन्टर बनाउन भ्याई नभ्याई छ । सम्पुर्ण विद्युतीय उपकरणहरु एकै ठाउँमा पाउने गरी व्यवसाय सुरु गर्नका लागि चौधरीलाई फुर्सद नै छैन ।

विदेशमा भएकाहरु धेरै जना घर फर्किसकेको बिषयमा जानकार उनी आफ्नै घरमा बसेर सुन्दर भविष्यको कल्पना गरिरहेका छन् । ‘विदेशमा धेरै बर्ष बसे, दुःखहरु भोगे । लकडाउनले रोजगार गुमेपछि अलपत्र परे । उद्धारका लागि हारगुहार गरेर घर फर्किएको हुँ ।’ उनले भने–‘अब काम गर्न वाहिर जादैंन । साडेपानीमा सवै विद्युतीय उपकरण पाउने ठाउँ छैन् । त्यही भएर त्यसको पसद खोल्न थालेको हु । सवै जनालाई म यतै घरमा बसेर काम गर्न रमाईलो हुन्छ भन्न चाहन्छु ।’ 

1

तुलसी कार्की र श्याम चौधरी प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै विदेशबाट फर्किएका सयौं जनाले आफ्नै व्यवसाय थालेका छन् र थाल्ने तयारी गरिरहेका छन् । कतिपयले भने आफ्नो काम पनि सुरु गरिसकेका छन् । विदेशबाट कमाएर बचाएकाहरुले आफ्नै उद्यम सुरु गरेकाहरु स्वदेशमै आत्मनिरभर भएकाहरुले जस्तै गरी आफ्नै काम गर्न नसक्नेहरुले पनि अव आफ्नै ठाउँमा काम पाएमा गर्ने अठोट लिएका छन् ।

कैलालीको फुलबारीका अर्जुन सापकोटा अव विदेश नगएर आफ्नै काम गर्ने योजना बुनिरहेका छन् । ‘घर परिवार हेर्नै पर्यो । छोराछोरी र श्रीमति वाहेक अरु कोही छैन् । काम नगरेर साँझ विहानको छाक टार्न गाहे हुन्छ ।’ उनले भने–‘विदेश गएर पनि के गर्नु अव काम पाउने अवस्था छैन् । घरमै वसेर केही काम गर्छु । के गर्ने भनेर सोचिरहेको छु ।’

नेपालमा गत चैत १० गते लकडाउन भएपछि विदेशबाट ५० हजार नेपाली घर फर्किएका छन् । उनीहरु आफ्नो घर पुगेका छन् । सुदुरपश्चिम र कैलाली जिल्लामा पनि एक हजार एक सय भन्दा वढी विदेशबाट फर्किएका छन् । भारतबाट मात्रै सुदुरपश्चिम घर फर्किनेको संखया तीन लाखभन्दा वढी छ । कैलाली जिल्लाका चार स्थानीय तहमा टेस नेपालले कार्यान्वयन गरिरहेको सामी परियोजना मार्फत सञ्चालित सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रका अनुसार विदेशमा अलपत्र परेका ११ जनालाई सुरक्षित रुपमा जिल्ला ल्याईएको छ ।

विदेशबाट फर्किएकाहरुको संख्यामा जिल्लामा ठुलो रहेकोले उनीहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन कार्यक्रमहरु लक्षित गरिएको बताउँदै सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रकी परामर्शदाता लक्ष्मीकुमारी चौधरीले उनीहरुलाई उद्यमसिलतामा लगाउने कार्यक्रमहरु गरिरहेको जानकारी दिईन् । ‘अहिले हामी सुरक्षित आप्रवास परियोजना मार्फत ११ जनाको उद्धार गरिएको हो । तर फर्किनेहरुको संख्या एक हजार एक सयभन्दा वढी रहेको छ । हाम्रा विभिन्न कार्यक्रमहरु विदेशबाट फर्किएकाहरुकै विषयमा केन्द्रित छन् ।’ उनले भनिन्–‘ हाम्रा ८० प्रतिशत कार्यक्रमहरु विदेशबाट आएकाहरुलाई आत्मनिरभर बनाउने विषयमा केन्द्रित रहेको छ । त्यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएका छौं । 

विश्वभरी फैलिएको महामारीका कारण वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु घर फर्किएका छन् । उनीहरुले विदेशको बसाईमा कुनै न कुनै काम गर्दै सीप पनि सिकेका छन् । यदि उनीहरुको सीपलाई नेपालमै प्रयोग गर्न सकेमा र त्यो सीपलाई सदुपयोग गर्नका लागि सरकारी स्तरबाट पहल भएमा सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकतामा बदल्न मदत्त मिल्ने अर्थ विश्लेषकहरुको भनाई छ ।