पहिरोले विस्थापित भएका वेला चुरेको धर्ती चर्किदा बढ्यो त्रास
2020/09/02, 7:55
 
pahiro

डडेलधुराको भित्री मधेसका जनताका घर र आँगन चर्किन थालेपछि त्रास फैलिएको छ । एकातिर पहिरोको त्रास छ भने अर्कोतिर घर र धर्ती समेत चर्किन थालेपछि उनीहरू त्रसित बनेका हुन् । पहिरोले दुई दर्जनभन्दा बढी घरहरू चर्किएका छन् भने आँगन, खेतबारी लगायतका क्षेत्रमा पनि चिरा पर्ने, जमिन फाट्ने, भासिने भइरहेको छ । चर्केको घर भत्किने डरले आलीताल गाउँपालिकामा पर्ने चुरे क्षेत्रबाट ३५ परिवार विस्थापित भएका छन् ।

2
७५ घरपरिवार रहेको बलौचा गाउँका नौ परिवार जंगलमा त्रिपाल टाँगेर बसेको स्थानीय मीना बोहराले बताइन् । उनले भनिन्, ‘घरभित्र बसे पहिरोले बगाउला भन्ने त्रास, त्रिपालमा बस्दा झन् सकस छ ।’ गाउँमाथिको पहाड पूरै चर्किएको छ । ज्वालामुखी गए जसरी बलौचाको पहाड चर्किदा स्थानीय त्रसित बनेको वडाध्यक्ष वीरबहादुर बोहराले बताए । अन्नबाली तथा पशु (चौपाया) आदि घरमै रहेको र आफूहरू बीच जंगलमा दूधेबालक सहित त्रिपालमुनि रहेको ३० वर्षीया पहिरो पीडित निर्मला बोहराले बताइन् । उनी परिवारका आठ जना सहित १५ दिनेको शिशु सहित त्रिपालमा छन । निर्मला सहित उनका टोलका ६ परिवार जंगलमा रात बिताइरहेका छन् । त्यस ठाउँको जमिन पनि भासिने क्रममा छ ।

2
आफूलाई सुरक्षित स्थानमा मात्रै नभई घर र जमिनको समेत व्यवस्था गर्नुपर्ने पहिरो पीडितको माग छ । पहिरोले अहिलेसम्म तीन वटा घर पुरेको छ । ३५ घरका दिवाल भत्केका छन् । आफूहरूलाई सरकारले छिटोभन्दा छिटो सुरक्षित स्थानमा सार्नुपर्ने मोहना साउँदले बताइन् ।

केही गाउँलेहरूलाई विद्यालय र बालविकास केन्द्रमा सारिएको छ । बलौचाका बस्तीलाई नजिगडाको सरस्वती प्रावि, वाचिकालाई बाल विकास केन्द्र र सामुदायिक भवन बलौचा र खिन्नेभाडीका बस्तीलाई नारीमा रहेका भवनमा सार्न थालिएको छ । गाउँपालिका स्तरमा बैठक बसी मुचुल्का उठाई सहयोगका लागि प्रदेश र संघीय सरकारलाई सहयोगको अपिल गर्ने निर्णय भएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

3

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला सहित प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको टोलीले पहिरो पीडित रहेकै स्थानमा पुगेर राहत दिएका छन । प्रतिपरिवार आठ हजारका दरले २५ परिवारलाई नगद सहयोग पनि दिएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।