कैलालीमा सब डिभिजन वन कार्यालय वर्दगोरिया र देउराली सामुदायिक वनबाट गएको संयुक्त टोलीले काठ चिरान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका वडा नम्वर ६ र लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा रहेको देउराली सामुदायिक वनको सिमानामा रहेको खहरे खोलामा पर्ने राष्ट्रिय वनको क्षेत्रभित्र सालको काठ चिरान गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको हो ।
मोहन्याल गाउँपालिका–६ का ४३ वर्षीय नैन बहादुर सिँजाली मगर र ३६ वर्षीय तुल बहादुर घर्तिमगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो । भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको सब डिभिजन वन कार्यालय वर्दगोरियाका प्रमुख सहायक वन अधिकृत कृष्णबहादुर बोहोराले बताए ।
दुई थान भरुवा बन्दुक, १४ फुटका ९ थान सालको कडी, काठ चिर्ने ३ वटा आरा, २ बञ्चरा बरामद गरिएको सहायक वन अधिकृत बोहोराले बताए । पक्राउ परेका तुलबहादुर घर्तिमगरले जंगलमै खान बस्नको व्यवस्था गरेर आफूहरुलाई काम गर्न लागेको बताए । काठ चिरान गर्न लगाउने गोविन्द चन्द देउराली सामुदायिक वनका निवर्तमान अध्यक्ष हुन ।