थपिएको निषेधाज्ञामा केही क्षेत्र खुकुलोः यस्ता छन् निषेध गरिएका र सञ्चालन गर्न पाइने क्षेत्र
2020/09/03, 1:05
 
corona

कैलाली जिल्लामा विभिन्न सेवा सञ्चालन गर्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन् । तर निषेधाज्ञालाई धेरै खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी बोहराले जारी गरेको सो आदेश भदौ १९ गते मध्यरातिदेखि ३१ गते मध्यरातिसम्म लागू हुनेछ । 

३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभरी जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ । सार्वजनिक सवारी साधनमा एक लाईनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ । सिटी रिक्सा र अटोको हकमा जोरबिजोर प्रणाली अनुसार यातायात मापदण्ड पूरा गरी बढीमा दुई जना यात्रु राखेर सञ्चालन गर्न पाइनेछ ।

खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध डेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने छ । होटल तथा रेष्टुराले भने होम डेलीभरी गर्नुपर्ने छ । व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ । यस्तै राति ९ बजेदेखि विहान ५ बजेसम्म भने हिडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ । 

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुन लगायतका सेवा तथा स्थलहरु सञ्चालन गर्न पाईने छैन् । ठेलागाडा वा साईकलमा सञ्चालन हुने फलफूल र तरकारी बाहेक अन्य किसिमका व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन् । आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पनि रोक लगाईएको छ ।

कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाईने छैन । सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन् । अन्य कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि आदेश दिईएको छ ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले दैनिक प्रशासनिक कार्य बाहेकका अन्य सेवा सञ्चालन गर्न पाउने छैनन । बैंक तथा वित्तिय संस्था (सहकारी बिमा सहित) हरु सञ्चालनको हकमा सामाजिक दूरी कायम गराई भीडभाड नहुने गरी विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

उद्योगहरुले नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउन पर्ने सुरक्षा मापदण्ड र स्वास्थ्य मापदण्डको पालन हुने गरी सञ्चालन गर्न पाईनेछ ।  सबै काममा स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।