कैलालीमा भोलीदेखि निषेधाज्ञा खुकुलो बन्दै 
2020/09/04, 9:13
 
corona

कोभिड–१९ को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिदै छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आज १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैं बोक्न पाउने छन् । जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी भिडभाड नगरी व्यापार व्यवसाय खोल्न पाउने छन् । बिहान ५ देखि साँझ ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सेवा बन्द नै हुने छन् । अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेर मात्रै कार्य सम्पादन गर्नु पर्नेछ ।

बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ । यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्रा जस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।