धनगढीमा कोरोना संक्रमित बिरामीको लागि प्लाज्मा संकलन कार्यको सुरु
2020/09/04, 4:47
 
korona

धनगढी स्थित रक्त संचार केन्द्रले सामाजिक बिकास मन्त्रालयको समन्वयमा कोभिड–१९ बाट संक्रमित बिरामीको लागि प्लाज्मा संकलन कार्यको आजबाट शुभारम्भ गरेको छ । 

नेपाल रोडक्रस सोसाइटी रक्त संचार केन्द्रमा आयोजित कार्यक्रम प्रदेशको सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले प्लाज्मा संकलन कार्यको शुभारम्भ गरेका छन ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री सुबेदीले कोभिड–१९ संक्रमित भइ निको भएकाहरुले प्लाज्मा दिन सक्ने भएकाले कोभिड–१९ संक्रमित भइ निको भएकाहरुलाई रक्तदान गरि कोरोना संक्रमित बिरामीका लागि सहयोग गरिदिन आग्रह गरे । 

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीले मोसफलमा कैलाली शाखाले यो कार्यक्रमको शुरूवात गरेको बताए । उनले कोभिड-१९ का बिरामीहरुका लागि प्लाज्मा थेरापी बिधि उपयुक्त भएको बताउदै कोभिड-१९ निको भएकाहरू सम्पर्कमा आउन आग्रह गरे । 

सुदुरपश्चिम मै पहिलो पटक कोभिड-१९ संक्रमण भएका स्वास्थ्यकर्मी जनक सिंह धामीले आफु जस्तै संक्रमितका लागि रक्तदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आफुले पहिलो पटक रक्तदान गर्न लागेको भएपनि कुनै असजिलो महसुस नभएको बताए । 

त्यस्तै अर्का संक्रमित स्वास्थ्यकर्मी दुर्गादत्त भट्टले समेत प्लाज्मा थेरापीका लागि रक्तदान गर्न पाउदा खुशी लागेको बताए । 

पछिल्लो पटक कोभिड-१९ संक्रमितका लागि प्रभावकारी मानिएको प्लाज्मा थेरापीले संक्रमितको शरिरमा एन्टीबडी उत्पादन गर्ने र त्यसले कोरोना भाइरससंग जुध्न मद्दत गर्ने भएकाले यो बिधि उपयुक्त हुने सेती प्रादेशिक अस्पतालमा कोभिड-१९ उपचारमा संलग्न वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले बताए ।

प्लाज्मा थेरापीका लागि आज ३ जना स्वास्थ्यकर्मी र अन्य दुई जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रमुख धरणीधर पन्तले बताए ।