डोटीमा भदौ २८ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए। यसअघि भादै १४ गतेदेखि २१ गतेसम्म सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा ठप्प रहने जनाएको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। त्यसै अनुरुप जिल्लाभित्र कोभिड –१९ को बढ्दो स्थितिलाई मध्यनजर गरी संक्रमण फैलिन नदिन रोकथाा, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको जनाइएको छ।
उक्त समयमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग व्यापार, व्यवसाय, यातायात बन्द रहनेछन्। अत्यावश्यक उपभोग्यवस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरवाहिर निस्कन नपाउने जिल्ला प्रशासनले जनाएको छ।
यस्तै दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, मासु पसल, डेरी, तरकारी फलफुल पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक ४ घण्टा मात्रै सञ्चालन हुनेछन्। प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्नेउपर रोग संक्रमक ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइउने जनाएको छ।