बैतडीमा जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो।
यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोश्रो चरणको निषेधाज्ञा जारी गरेको थियो। बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ।
अनिवार्य रुपमा मास्क, सेनिटाईजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ। यस्तै, सवारी साधनको हकमा जोर बिजोर प्रणाली अन्तरगत संचालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।