धनगढी उपमहानगरपालिका ९ का श्यामबहादुर कठायत जेठ अन्तिममा नेपाल फर्किए, भारतको गुजरातबाट। त्यहाँ कोरोना भाइरसको संक्रमण चुलियो। त्रास बढ्यो। बिरानो सहरमा रोगसँग जुँध्नुको विकल्प देश फर्कनु मात्र थियो । सोचेका थिए– अब सानै सही देशमै केही गर्छु । पेट पाल्न पुगे विदेश फर्कन्न । नेपालमा परिवार थियो। साथीभाइ थिए। खुशी हुने बहाना पाए। केही समय रमाएका पनि हुन् । आफ्नो ठाउँमा पनि रोगको त्रास नभएको कहाँ हो र? तर, रोगसँगभन्दा संघर्षपूर्ण रह्यो भोकसँगको लडाई ।
आइतवार श्यामबहादुरलाई ‘वेलकम टू इन्डिया’ लेखिएको प्रवेशद्वारले स्वागत ग¥यो । बाध्यताको झोला भिरेर फेरि होमिए कोरोना भाइरसको आहाल बनिरहेको भारततर्फ । आइतबार बिहानै भारत जानका लागि गौरिफन्टा नाका खुल्ने प्रतीक्षामा थिए ५० जना भन्दा बढी नेपाली। त्यही समूहमा भेटिए २९ वर्षीय कठायत पनि । १९ वर्ष अघि पहिलो पटक भारत छिरेका उनका लागि यो यात्रा नौलो होइन । यो बाध्यता पनि नौलो होइन । देशमा रोजगारीका पहिले पनि थिएन । अहिले पनि छैन ।
अभावैले त हो १० वर्षको उमेरमा भारत धकेलेको। भारतको खटनको बानी परिसकेको छ । तर, रोगले मारे पनि परिवार सँगै हौं भन्ने उनको योजना तुहियो । घरमा दुई नाबालक छोराछोरी, श्रीमती, आमा र बहिनी छन्। उनीहरू भोकाएको हेर्न सकेनन् । आँखै अगाडि बहिनी अनि सन्तानले पढाई पनि छाडेको हेर्न सक्ने आँट उनमा रहेनछ । परिवारप्रतिको जिम्मेवारी पूरा गर्नकै लागि कोरोना कहरकै बीच भारत पस्न लागेको बताउँछन् उनी ।
‘स्वदेशै केही काम मिल्ने भए आमा, छोराछोरीसँगै बसेर रमाउने रहर त कसको हुन्न होला ?’ उनी भन्छन्, ‘हामीलाई पनि रहर त थिएन यत्रो महामारीमा भारत जान, बाध्यताले नै हो फेरि उतै हिँडेको । गरिबका लागि त नेपालमा सरकार नै कहाँ छ र ?’ भारतबाट फर्किएर धनगढीमा दुई महिनासम्म काम खोजे । केही पाएनन् । विकल्प रहेन । उस्तै विवशताले थिचिएकी रहेछिन् कैलाली लम्की चुहा नगरपालिकाकी गोमा न्यौपाने । श्रीमान् र एक छोरालाई भारतमै छोडेर उनी पनि जेठ दोस्रो साता नेपाल फर्किएकी थिइन् ।
स्वदेशमा बस्ने वातावरण बनाउन सके परिवार यतै बोलाउने सोचेर आएकी थिइन् । तर, देशले आशा समेत दिएन । ‘अब त रोगसँग भन्दा भोकको बढी डर छ’, उनले भनिन्, ‘कोरोना लागेर पनि बाँचेपछि कमाएर खाउँला भन्ने लागेको थियो । तर बसेर मात्रै खाने गुजारा चल्दैन ।’ गत भदौसम्म भारतबाट आउनेहरूको लर्को थियो सुदूरपश्चिमका नाकामा। अहिले फेरी भारत पस्नेहरूको उस्तै लर्को । आइतबार मात्रै गड्डचौकी र गौरिफन्टा नाकाबाट पाँच सय ४२ जना भारत पसेका छन्। नेपाल फर्किनेको सङ्ख्या भने ३ सय ८१ रहेको छ । त्यस अघि शनिवार कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट पाँच सय २१ जना भारत फर्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शनिवार गौरीफन्टाबाट चार सय ७१ र गड्डाचौकीबाट ५० जना गरी पाँच सय २१ जना भारततर्फ गएको बताए । नेपाल आउनेको सङ्ख्या भने शनिवार तीन सय ८० रहेको थियो । कोरोना महामारीपछि स्वदेश फर्किएकाहरू रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको भन्दै फेरी भारत जान थालेका हुन । भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ । कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको खबर पहिलो पोष्टले लेखेको छ ।