बैतडीमा थप १८ सय घरधुरीमा विद्युत विस्तार
2020/09/08, 3:05
 
bidhut

बैतडीमा गत आर्थिक वर्षमा थप १ हजार ८ सय घरधुरीमा विद्युत विस्तार भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत विस्तार हुँदा थप १ हजार ८ सय घरधुरीमा विद्युत सेवा विस्तार भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । 

जिल्लाका १२ ठाउँमा ट्रान्सफर्मर राखेर विद्युत सेवा विस्तार गरिएको उनले जानकारी दिए । जिल्लाको सुर्नया गाउँपालिकाको शंकरपुर, पाटनको किम्तोली, बाटुलासौं, मजेरा, भडाली, डुब्केकोइरालीमा नयाँ ट्रान्सफर्मर राखिएको छ । 

यस्तै पञ्चेश्वरको जेबलकटट्या, बिजुल र सेलीमा नयाँ ट्रान्सफर्मर राखिएको छ भने डिलाशैनीको सेरी र दोगडाकेदारको सित्तडमा नयाँ ट्रान्सफर्मर राखिएको प्रमुख जोशीले जानकारी दिए । उनले भने, 'जिल्लामा विद्युत विस्तार कार्यक्रम अन्तर्गत विद्युत सेवा विस्तार गरिएको हो । विद्युत पहुँच नभएका ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर विद्युत विस्तार गरेका छौं ।'

यो संगै बैतडीका १५ हजार घरधुरीमा विद्युतको पहुँच पुगेको जोशीले जानकारी दिए  । नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पनि विभिन्न ठाउँमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको जोशीले बताए । उनले भने, 'विद्युत विस्तार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा पनि जिल्लाका विद्युतको पहुँच नपुगेका ठाउँमा विद्युत विस्तार गर्ने लक्ष्य छ ।'

गाउँमा विद्युत विस्तार भएसँगै स्थानीयबासीहरु पनि खुसी भएका छन् । विद्युतको पहुँच बढेपछि धेरै सजिलो भएको दोगडाकेदार ६ सित्तडका रामदत्त जोशीले बताए । उनले भने, 'विद्युत विस्तार भएसँगै गाउँमा मिलहरु सञ्चालन गर्न सजिलो भएको छ । अन्य इलेक्ट्रोनिक कामहरुमा समेत सहज भएको छ ।'