विदेशबाट फर्किएकालाई स्वरोजगार बनाउन सुदूरपश्चिम सरकारले ल्यायो कार्यक्रम
2020/09/09, 8:53
 
Agriculture

सुदूरपश्चिम प्रदेश सरकारले कोभिडड –१९बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ। 

कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित गरी इच्छुक व्यक्तिवाट निवेदन आह्वान गरिसकेको छ। 

कार्यक्रममा तरकारी, च्याउ र फलफूल खेतीका अलावा मौरी, भेडाबाख्रा, गाईभैँसी, माछा, स्थानीय कुखुरा तथा हाँसपालनजस्ता मासुजन्य पक्षीपालन गर्न सकिने  मन्त्रालयका कृषिप्रसार अधिकृत गोकुल बोहोराले बताए। तुरुन्त आयआर्जन हुने तथा स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई छनौटमा प्राथमिकता दिई कार्यक्रम कार्यान्वयन गर्न लागिएको जनाइएको छ।  ‘‘माग अनुसारको प्याकेज बनाएर कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ, फिल्डमै पुगेर अध्ययन गरी सहभागी हुन चाहने व्यक्तिको छनौट गरिने छ।”

झण्डै नौ हजार परिवारलाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रम कार्यान्वयनका लागि चालू वर्षमा १५ करोड बजेट विनियोजन गरिएको छ। पहिलो वर्ष छनौट हुने व्यक्तिलाई न्यूनतम् अनुदान उपलब्ध गराइनेछ। त्यसका आधारमा मूल्याङ्कन गरी आगामी वर्षदेखि अनुदान सहयोग वृद्धि गरिने छ। 

जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्र मार्फत् सञ्चालन हुन लागेको यो कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले कार्यविधि बनाउन लागेको छ। यस वाहेक मन्त्रालयका नियमित कार्यक्रममार्फत् कृषि ऋण र कृषि बीमामा अनुदान, कृषिमा प्रयोग हुने विद्युत, साना सिँचाई सहयोग कार्यक्रम, फलफूल क्षेत्र विस्तार कार्यक्रम लगायतमा पनि अनुदानको सहयोग गर्ने योजना बन्न लागेको जनाइएको छ।

मन्त्रालयले विदेशवाट फर्किएका र कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरी कार्यक्रम कार्यान्वयनको तयारी गरिरहँदा सुदूरपश्चिमवासीहरु गौरीफंण्टा सीमा नाका हुँदै कामको खोजीमा पुनः भारत जान थालेका छन्। 

गौरीफण्टा सीमा नजिक कञ्चनपुरको डोकेबजार स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भूपाल थापाले भदौ १२ गते देखि हालसम्म झण्डै दुई हजार सुदूरपश्चिमेली कामका लागि भारत पसेको जानकारी दिए। भारतको सीमला क्षेत्रमा स्याउ टिप्ने मौसम शुरु भएकोले त्यहाँ जाने नेपाली बढेको जनाइएको छ।