खाद्य संस्थानको चामल ढुवानीमा आर्थिक अनियमितताको गन्ध
2020/09/09, 8:59
 
Chamal

यतिबेला बाजुराको उत्तरी क्षेत्र खाद्य संकटको मार खेपिरहेको छ। तर त्यहि बेला खाद्य संस्थानले भने ढुवानीमै लाखौं रकमको चलखेल गरिरहेको तथ्य सार्वजनिक भएको छ। अहिले संस्थानले कोल्टी डिपो र मार्तडीका लागि बर्दियाको राजापुरबाट आपत्कालिन भन्दै एक÷एक हजार क्विन्टल चामल ढुवानी गरिरहेको छ।

उत्तरी क्षेत्रको खाद्य संस्थानमा चामल सकिएको र सडक अबरोध हुँदा त्यो क्षेत्रमा खाद्यान्न ढुवानीका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले खाद्य संस्थानको केन्द्रिय कार्यालयमा पटकपटक पत्रचार गरेको थियो। प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षमा खाद्य व्यवस्थापन समितिले बर्दियाको राजापुरबाट चामल ढुवानी गर्न खाद्य संस्थानको केन्द्रिय कार्यालयमा निर्णयसहित पत्रचार गरेको थियो। निर्णयसँगै बर्दियादेखि मार्तडी र कोल्टीसम्मको ढुवानीको दर समेत निर्धारण गरिएको थियो।

दर निर्धारण गर्दा राजापुरबाट बेतालमाण्डौसम्म गाडीबाट प्रति क्विन्टल ६ सय, बेतालमाण्डौबाट मार्तडीसम्म खच्चरमा प्रति क्विन्टल १८ सय र मार्तडीदेखि कोल्टीसम्म प्रति क्विन्टल २२ सय निर्धारण गरेर पठाइएको थियो। 

जम्मै गरेर बर्दियाको राजापुरबाट कोल्टी खाद्य संस्थानमा प्रति क्विन्टन ४६ सयमा ढुवानी रकम निर्धारण भएको थियो। त्यो बेला कोल्टीका लागि कर्णाली करिडोरबाट ढुवानी गर्ने कुनै निर्णय भएको छैन्। जबकी उक्त मार्गबाट ढुवानी गर्दा धेरै सस्तो हुनजान्छ। 

त्यसपछि ढुवानीका लागि राजापुर खाद्य संस्थानले एक हप्ते सूचना निकालेकोे थियो। उक्त ढुवानीको ठेक्का जुम्लाका हस्त बुढाले पाएका थिए। उनले अहिले निर्णय विपरित राजापुर–बेतालमाण्डौ–मार्तडी–कोल्टीको बाटोबाट चामल ढुवानी गरिरहेका छन्। निर्णय गरिँदा एक मार्ग तर ढुवानी गर्दा कर्णाली कोरीडोरलाई छनौट गरिँदा त्यहा रकम कुम्ल्याउने खेल भएको प्रष्ट देखिएको छ। 

खाद्य व्यवस्थापन समितिमा नेकपाबाट प्रतिनिधित्व गरेको नेकपा बाजुरा सचिवालय सदस्य काशी बिकले उक्त कार्य सरासर कमिशनको खेल भएको बताएका छन्। ‘कर्णाली कोरिडोरबाट ढुवानी गर्नुपर्ने भए त्यहाँको पनि भाडा निर्धारण गरिनुपर्ने थियो, भाडा एउटा बाटोको निर्धारण तर ढुवानी अर्कोबाट गरिँदा सरासर पैसाको चलखेल भएको देखिन्छ’ उनले भने। 

ठेक्का पाएका हस्त बुढाले कोल्टीका लागि कर्णाली करिडोरको जितेगडामा ५ सय १० क्विन्टल चामल पुगाइसकेको बताए। उनले छिट्टै कोल्टीमा चामल पुर्याउने बताएका छन्। बुढालाई ‘ढुवानी यताबाट गर्ने निर्णय भएको छ, तपाईले त त्यहाँबाट गर्नुभयो नी’ भनेर सोध्दा उनले भने ‘यो बाटो ढुवानी गर्न सहज र कोल्टीमा चामल पुर्याउन चाँडो हुने भएकोले यताबाट ढुवानी गरेको हुँ।’ उनले ढुवानी सम्झौता भने प्रति क्विन्टल ४६ सयमा नै भएको बताए।  

त्यसैगरी मार्तडी संस्थानको ढुवानीमा बेतालमाण्डौबाट मार्तडीसम्म खच्चरमार्फत ढुवानी गर्ने गरी सम्झौता भएको छ। तर अहिले बुढीगंगाको बल्देसम्म यातायात सञ्चालनमा रहेको छ। यसले पनि ढुवानी रकम फरक रहेको देखिन्छ। 

यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले निर्णय गर्नेबेला कर्णाली करिडोरबाट ढुवानी गर्नेबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन्। यस्तै खाद्य संस्थान बाजुरा शाखाका मेखराज ओझाले उक्त ढुवानी प्रक्रिया सबै केन्द्रले गर्ने भएकाले आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।  

जिल्लामा पटक–पटक खाद्य संस्थानको चामल ढुवानीमा आर्थिक चलखेल हुने गरेको तथ्य बाहिर आइरहेका छन्।