बैतडीमा किशोरी बलात्कारः थप दुई जना पक्राउ
2020/09/09, 11:49
 
rape

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले थप दुई जना पक्राउ परेका छन्। तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएकोमा थप दुई जनालाई पक्राउ गरिएको हो।

प्रहरीले सिगास गाउँपालिका ८ का धानुक भन्ने धन बहादुर बोहरा र दान बहादुर बोहारलाई नियन्त्रणमा लिएको जनाएको छ। किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको आरोप लागेको थियो।

आरोपित सबैलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने जनाइएको छ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ। कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

बलात्कृत किशोरीलाई प्रहरीले उद्धार गरेको छ। ती किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटकपटक बलात्कार गरेको आरोप लागेपछि प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। 

पीडित किशोरीसँगै उनका श्रीमान र एकजना दाजुसमेत सदरमुकाम पुगेका छन्। सोमबार सिगास पुगेको प्रहरीले मङ्गलबार किशोरीको उद्धार गरेर सदरमुकाम ल्याएको हो। पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा राखिने प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। 

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको हो। यो घटना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन्।