सुदूरपश्चिमका कपाल काट्नेमा कोरोना संक्रमण, नगरपालिका सिल
2020/09/10, 3:29
 
corona

सुदूरपश्चिम प्रदेशका थप एक कपाल काट्नेमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार डडेल्धुराको प्रयोगशालामा भएको परीक्षणमा दार्चुला सदरमुकाममा शैलुन व्यवसाय गर्दै आएको एक पुरुषमा कोरोना पुष्टि भएको हो। 

उनीमा कोरोना देखिएपछि महाकाली नगरपालिकाले नगरक्षेत्र पूरै सिल गरेको छ। महाकाली नगरपालिका स्तरिय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंशका गर्दै पुरै नगरपालिका सिल गर्ने निर्णय गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालयले पनि महाकाली नगरपालिका पुरै सिल भएको सार्वजनिक सूचना जारी गरेको छ। 

दार्चुलामा पहिलो पटक समुदायस्तरमा कोरोना संक्रमण देखिएको हो। उनका साथै जिल्लाको व्यास गाउँपालिका घर भई महाकाली नगरपालिका –५ तिंकर खेडा घरमै बस्दै आएका एक युवकमा पनि कोरोना देखिएको थियो।
यसअघि बुधबार नै धनगढीका एक शैलुन व्यवसायीमा पनि कोरोना देखिएको थियो।