व्यवसायिक तरकारी खेतीमा कृषि सहकारी
2020/05/21, 6:05
 
korona

पछिल्लो समयमा कृषि खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । किसानले एकल कृषिभन्दा पनि सामूहिक र व्यावसायिक कृषिलाई प्राथमिकता दिन थालेका छन । त्यसमा पनि संघ संस्थाले कृषि क्षेत्रमा लगानी गर्न थालेपछि किसान झनै कृषि पेशातर्फ प्रेरित हुन थालेका हुन ।

कैलालीको जानकी गाउँपालिका—९ अमरावतीमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नमूना एकीकृत कृषि फार्म सञ्चालन शुरु गरेको छ । गत वर्ष जेठ ६ गतेदेखि सञ्चालनमा आएको फार्मले सोही ठाउँका एक जना जग्गा धनीसँग १० वर्षका लागि दुई बिघा जमिन भाडामा लिएर मौसमी तथा बेमौसमी तकारी उत्पादन गर्दै आएको छ । ४० लाख लगानीबाट उत्पादन शुरु गरेको फार्मले तरकारी बेचेर राम्रो आम्दानी गरिरहेको बताइएको छ ।

त्यहाँ उत्पादित तरकारी टिकापुर, लम्की, बौनियाँ र सुखडसम्म जाने गरेका छन् । फार्ममा लौका, करेला, चिचिन्डा, बोडी, काँक्रा, घिरौँला, मुला, मकै, गोलभेँडा, भिन्डीलगायत विभिन्न तरकारी उत्पादन हुने गरेका छन । शुरु शुरुमा बजार बजारमा लगेर बिक्री गर्ने गरेकोमा अहिले आग्र्या्निक तरकारी पाउने भएपछि तरकारी व्यवसायीले फार्ममै आएर खरिद गर्ने गरेको फार्मका कृषि प्राविधिक वीरेन्द्र शाहले बताए । उनले भने, “अहिले भने तरकारी बिक्री वितरण गर्न कुनै समस्या छैन। व्यापारी फार्ममै आएर तरकारी  लिनु हुन्छ। ”

कोरोना भाइरसको सङ्क्रमणका कारण देश बन्दाबन्दीको अवस्थामा हुँदा उत्पादन भएको तरकारी बिक्री वितरण हुन नसक्दा सडेर जान थालेको उहाँको भनाइ छ । फार्ममा ६ जना कर्मचारी छन् । “मेहनत अनुसार फार्ममा तरकारी राम्रो उत्पादन भइरहेको छ”, उनले भने, “बन्दाबन्दीका बीच गाउँ ठाउँका तरकारी बिक्री वितरण हुन सकेका छैनन् । तर भारतबाट आउने विषादीमूलक तरकारी व्यापारीले बिक्री वितरण गरिरहेका छन ।”

प्रचार प्रसारको अभावले पनि केही समस्या भएको अर्का कृषि प्राविधिक नवीन न्यौपानेले बताए । उनले कृषि फार्मले अन्य किसानलाई कृषिमा लाग्न प्रेरित गरोस् र बाहिरबाट आयात हुने तरकारीलाई केही मात्रामा भए पनि रोक्न सकिन्छ भन्ने उद्देश्यले फार्म सञ्चालनमा ल्याएको बताए । स्थानीय उत्पादनले बजार पाउने र रोजगारीको समेत सिर्जना गर्न सक्ने विश्वास संस्थाले लिएको फार्मका प्रमुख अमित चौधरीले बताए । “संस्थाले आधुनिक प्रविधिको प्रयोग गरी व्यवसायी तरकारीखेती गरिरहेको छ”, उनले भने, “संस्थाका सदस्य तथा आमकिसानलाई व्यवसायी कृषिका लागि प्रेरित गर्दै आम किसानको जीवनस्तर उकास्ने उद्देश्यले कृषि फार्म सञ्चालनमा ल्याएको हो ।”

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कैलालीका १३ वटै स्थानीय पालिकामा बैंकिङ कारोबारका साथ साथै तरकारी पकेट क्षेत्र बनाउने लक्ष्य पनि राखेको संस्थाका निवर्तमान सञ्चालक समिति सदस्य मानिस न्यौपानेले बताए । उनले सहकारी संस्था बैंकिङ कारोबारका साथ साथै किसानलाई कृषि क्षेत्रमा लाग्नका लागि विभिन्न सन्देशमूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताए । 

पछिल्लो समय भारतबाट आउने विषादीयुक्त तरकारीले बजार धानिरहेको अवस्था छ । यसले गर्दा गाउँठाउँमा उत्पादन भएका अग्र्यानिक तरकारी बजार पाउन नसकेको अवस्था छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेसँगै त्यसको उत्पादन र बजारीकरणमा समेत सहज बनाउनुपर्ने स्थानीयवासीको माग छ । रासस