दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट गर्ने विरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको भए पनि पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा सञ्चार गृहको कार्यालयमै पुगेर पत्रकारमाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता गरेको दुई दिन बित्दा समेत संलग्नहरुलाई पक्राउ नगरिएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जना विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा जाहेरी दर्ता गरिएको थियो । तर कैलाली प्रहरीले भने उनीहरुलाई अझै पक्राउ नगरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कुटपिटमा संलग्नको खोजी भईरहेको बताए ।
प्रहरी नायव उपरिक्षक विष्टले नै दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । उनका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन । तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् ।
समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो । यता नेपाल पत्रकार महासंघ कैलालीले दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न प्रशासनलाई अल्टिमेटम दिएको छ । घटना भएको तीन दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली शाखाले आजसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
शनिबार कैलाली शाखाको अगुवाइमा भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई पक्राउ गर्न दुई दिने अल्टिमेटम दिएको कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीले बताए । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आजसम्म दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका थिए ।