महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण
2020/09/13, 10:38
 
jirna

भीमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्न महाकाली नदीमाथि निर्माण गरिएको मल्टिस्पान झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। पुलका विभिन्न ठाउँमा स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गलहरु टुटेका छन। ठाउँ-ठाउँमा पुल ठड्याउन राखिएका नट बोल्टहरु खसेका छन्।

जसका कारण जुनसुकै बेला पनि दुर्घटना निम्तिने खतरा बढेको छ। पुलमा मोटरसाइकल, साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण बन्दै गएको हो। पुलका स्टिल डेकहरु ठाउँठाउँमा टुटे पनि सवारी आवागमन भने जारी छ। पुल जीर्ण बन्दै गएकाले तत्काल मर्मतका लागि पहल भइरहेको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

मर्मतका लागि आवश्यक सामान स्थानीय बजारमा उपलव्ध नहुँदा बुटवलबाट ल्याउन पहल भइरहेको उनको भनाइ छ। झोलुङ्गे बजार व्यवस्थापन समिति महाकालीले अविलम्ब पुल मर्मतको माग राख्दै वडाध्यक्ष भक्तबहादुर सुनारलाई ज्ञापनपत्र समेत बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै समितिका उपाध्यक्ष विराट भट्टले जीर्ण पुलका कारण जुनसुकै बेला पनि दुर्घटना निम्तिने भएकाले तत्काल पुल मर्मत गरिनु पर्ने बताए।

गत वर्ष मात्रै पुल मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले ६० लाख रुपैयाँ खर्चिएको थियो। मर्मतका लागि डडेल्धुराको खाम्पाचे-देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले ठेक्का लिएको थियो। पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नु पर्ने अबस्थामा पुगेको छ।