संघीय सरकारले महाकाली करिडोरमा ट्रयाक खोल्नका लागि ९० करोड बजेट स्वीकृत गरेको बताइएको छ। कञ्चनपुरदेखि दार्चुलाको तिकंरसम्म जोड्ने सो करिडोरको ट्रयाक खोल्नका लागि ९० करोड बजेट स्वीकृत भएको बैतडीका सांसद दामोदर भण्डारीले बताए। करिडोरमा बजेट विनियोजन भएसंगै अब निर्माण कार्यले तीव्रता पाउने आशा बढेको उनले बताए।
आर्थिक वर्ष २०६५/६६ सालमा करिडोरको अवधारणा अघि आएपछि कञ्चनपुरदेखि दार्चुला तिंकरसम्मलाई महाकाली करिडोर नामाकरण गरिएको थियो। करिडोर अन्तर्गत बैतडी र दार्चुलामा केही काम भएपनि डडेल्धुरा कञ्चनपुरमा खासै काम अघि बढ्न सकेको छैन्। कञ्चनपुरमा करिडोर निर्माणस्थलमा इआएए प्रतिवेदन नआएकाले समस्या भएको दार्चुला तिंकर सडक महाकाली करिडोर आयोजनाले जनाएको छ।
भारत र चीनसँग व्यापार व्यवसायसंगै कैलाश मानसरोवर जाने छोटो बाटोको रुपमा समेत करिडोरलाई हेरिएको छ। महाकाली लोकमार्ग दार्चुला–तिकंर सडक योजनाका अनुसार करिडोरको ४३६ किलोमिटर मध्ये हालसम्म दार्चुला र बैतडीमा गरी १३५ किलोमिटर ट्रयाक खुलेको छ। यस वर्ष थप ११७ किलोमिटर ट्रयाक खोल्न टेन्डर आव्हान गर्ने तयारी भएको छ।