दुई दशक अघि संरक्षणको सुरुवात भएको डल्फिन क्षेत्रमा स्तम्भ निर्माण गरिने
2020/09/14, 8:38
 
dalphin

कैलालीको भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको छ ।  करीब दुई दशक अगाडीदेखि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण कार्य शुरू गरिएको सो टोलमा डल्फिनको स्तम्भ निर्माण गरिने भएको हो । डल्फिन संरक्षणको इतिहासलाई सधैंभरि जीवन्त राख्न डल्फिनको प्रतिमा सहितको स्तम्भ निर्माण गर्ने कार्यमा डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल र स्थानीय संरक्षणकर्मी जुटेका हुन् ।

संरक्षणको शंखफुक भएको स्थान ओझेलमा पर्दै गएको भन्दै डल्फिनको प्रतिमा सहितको स्तम्भ निर्माण गरिने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए । भजनी नगरपालिका–३, वडा नम्बर ८ र टीकापुर नगरपालिका–७ को पथरैया र काँढा नदीको संगम स्थान भजनी नगरपालिका–३ दैलेखी टोलमा डल्फिन स्तम्भ निर्माण गरिने संरक्षण नेपालका महसचिव जयप्रसाद ढुंगानाले बताए ।

पर्यटकीय हिसाबले डल्फिन क्षेत्रको प्रचार प्रसार भए पनि संरक्षणको उद्गम गाउँ ओझेलमा परेको महसुस गरिएको भन्दै महासचिव ढंगानाले सो क्षेत्रलाई प्रमुख पहिचानको रूपमा चिनाउने उद्देश्यले स्तम्भ निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताए । ‘डल्फिन स्तम्भ निर्माण गर्ने निर्णय गरिए पनि स्रोतसाधन आर्थिक अवस्था अभावका कारण समस्या हुने देखिएको छ,’ उनले भने, ‘यसको लागि सरकारी, गैरसरकारी संघ संस्थासँग समन्वय गरिने र नभए जनस्तरबाटै भए पनि स्तम्भ निर्माण गरिने छ ।’

डल्फिन स्तम्भ निर्माणका लागि स्थानीय संरक्षणकर्मी नेत्र देउवाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । २ दशक पहिलेदेखि डल्फिनको संरक्षण र सम्बद्र्धनको अभियानमा जुटेका भोजराज श्रेष्ठ (गुलेलीबाजे) ले त्यस क्षेत्रको नेतृत्व र अगुवाइमा सयांै संरक्षणकर्मीको सहभागिता संरक्षणको अभियान शुरू गरिएको थियो । 

डल्फिन क्षेत्रको संरक्षण र सम्बद्र्धनमा टीकापुर नगरपालिकाले बढी चासो दिएको छ । राष्ट्रिय गौरबको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले टीकापुर सर्किटमा डल्फिनमैत्री तटबन्धको काम समेत गरिसकेको छ भने डल्फिन क्षेत्रको अनुगमन तथा भ्रमणका लागि आउने पर्यटक पनि टीकापुर सर्किटबाट बढी आउने गरेका छन् ।