बैतडी कोरोनामुक्तः ३ महिना २० दिनपछि संक्रमण शून्य ! 
2020/09/14, 9:04
 
corona

बैतडी जिल्लाका विभिन्न स्थानीय तहका ३७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शून्य भएको छ। पाटन नगरपालिकाका १ जना संक्रमित पनि आज डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य भएको हो। गत जेठ ९ गते पहिलो पटक जिल्लामा एक जना थुनुवामा कोरोना पुष्टि भएको थियो।

३७५ जना नेपाल सरकारको मापदण्ड अनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोश्रो र केहीको तेश्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। जिल्लामा अहिलेसम्म ४ हजार १ सय २९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोर्ट आउन बाँकी छ। उनले भने, ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन।

अहिलेका लागि सक्रिय संक्रमित शून्य छन्। स्वाब संकलन कार्य अझै पनि जारी छ।’ जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उनले बताए। तत्कालका लागि कोरोना संक्रमित नरहे पनि स्वास्थ्य सुरक्षा मापदण्ड भने पालना गर्न आवश्यक रहेको जोशीले बताए।  

दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो। यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो।  जिल्लामा १२ हजार बढी नागरिक भारतबाट फर्केका थिए। उनीहरु मध्ये अधिकांशलाई १४ दिन क्वारेन्टाइनमा बसाइएको थियो।