बाजुराको कोल्टीमा इलाका प्रशासन राख्न माग
2020/09/15, 7:39
 
janata ko mag

बाजुराको उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्। सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले उत्तरपूर्वी भेगमा इलाका प्रशासन कार्यालय राख्न सरकारसँग माग गर्ने निर्णय भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।

उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ का नागरिकले सरकारी सेवा लिन लामो दूरीको यात्रा गर्दै जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि सरकारसँग इलाका प्रशासन कार्यलयल माग गर्ने सहमति भएको हो। तीन वटै तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा अहिलेसम्म इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नागरिकले जिल्ला धाउनुपर्ने बाध्यताका कारण चार स्थानीय तहले इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृह मन्त्रालयलाई पत्र पठाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए। 

जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा सुविधा लिन इलाका प्रशासन कार्यालय स्थापनापछि तीन गाउँपालिका र एक नगरपालिकाका नागरिकलाई सहज हुने भएकाले सोमबार बसेको सर्वपक्षीय बैठकले सहमतिसहित पत्र पठाएको अध्यक्ष शाहीले बताए। सर्वपक्षीय भेलामा प्रदेश निर्वाचन क्षेत्र ‘क’ का प्रदेशसभा सदस्य बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख पदमकुमार गिरी, हिमाली गाउँपालिकाका अध्यक्ष मल्ल, जगन्नाथ गाउँपालिकाका अध्यक्ष शाही र स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही तथा नगर उपप्रमुख गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्ष नागरिक समाजका अगुवालगायतको सहभागिता थियो।