सञ्चारमाध्यममा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कानुन मन्त्रालयमा धर्ना
2020/09/15, 1:31
 
dharna

सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले आन्दोलन जारी राखेका छन्। सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा एक घन्टा धर्ना दिएका पत्रकारले आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिएका छन्।

सञ्चारमाध्यममा आक्रमण गर्ने समूहको पहिचान भइसक्दासमेत प्रहरीले पक्राउ नगरेको विरोधमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकार आन्दोलनमा उत्रिएका हुन्। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले आक्रमण भएको ५ दिन पुगिसक्दा समेत संलग्नलाई पक्राउ नगरेकोले दबाबका लागि आन्दोलनमा उत्रनुपरेको बताए।

‘आन्दोलनका कार्यक्रम अन्तरगत भोलि प्रदेश सभामा धर्ना दिने कार्यक्रम रहेको छ,’ उनले भने, ‘प्रहरी प्रशासनले दोषीलाई पक्राउ गरी कारवाही दायरामा नल्याएर पर्सीदेखि रिले अनसन सुरु गर्ने तयारीमा छौ।’ आइतबार धनगढीमा ¥याली निकाल्नुका साथै जिल्ला प्रशासनअगाडि कोणसभा गरिएको थियो भने सोमवार जिल्ला प्रशासनमा धर्ना दिइएको थियो।

समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो। २६ भदौमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का १९ वर्षीय एक युवक मृत भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले दिएको जानकारीका आधारमा सञ्चारगृहअन्तर्गत दिनेश खबरले प्रहरी हिरासतमा युवकले आत्महत्या गरेको समाचार प्रकाशन गरेको थियो। युवकको हत्या भएको भन्दै एक समूहले आत्महत्या गरेको किन लेखेको भनेर समाचार कक्षमै दिनेश सञ्चारगृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्नुका साथै व्यवस्थापक अमिता कुँवर लगायतका कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।