बाजुराको स्याउ धनगढीमाः “जसले एक पटक खायो, उसले स्वाद थाहा पायो”
2020/09/17, 8:54
 
apple

बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। 

धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ नेपालगञ्ज हुँदै धनगढी पुगाइएको हिमाली होटलका सञ्चालक सुरेन्द्र थापाले बताए। ज्ञान केन्द्रका अनुसार स्याउँ फल्ने स्थानीय बासिन्दाको साझा संगठन बनाईएको छ। नमुना कृषि गाउँ कृषक समन्वय समितिले किसानका बारीमा गएर स्याउँ किन्ने गरेको छ। सोही समितिले प्याकिङ्ग र ग्रेडीङ्ग गरेर कृषकहरुलाई स्याउँको मुल्य बुझाउँछ। स्याउँ फल्ने स्थानिय तहका केन्द्रहरु समेत अहिले पनि सडक सञ्जालमा जोडिएका छैनन्। त्यस कारण बारीमा टीपेर कार्टुनमा प्याक गरीएको स्याउँ कोल्टीको एयरपोर्टसम्म बोकेर ल्याउँने गरिएको छ।

त्यहाँबाट प्रति किलो १५ रुपैँया तिरेर स्याउँ नेपालगन्जको बिमान स्थलमा झर्छ र त्यहाँबाट ट्रक मार्फत धनगढी स्याउँ पुगाउने गरिएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका किसानका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि यस बर्ष कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्वीन्टल ढुवानी अनुदान मार्फत बजार सम्म पुगाउँने उदेश्य राखेको केन्द्रका कृषि प्रसार अधिकृत जैशीले बताए।

जैशीले भने, ‘बारिबाट बजार सम्म ढुवानी गराईदिने, बिक्रि ढुवानी गरेको स्याउँ ब्यापारीलाई समन्वय समितिले सम्बन्धित बजार सम्म पुगाई दिन्छ।’ जैशीका अनुसार जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ।

गत बर्षबाट मात्र जिल्लाको स्याउँ जिल्ला बाहिर जाँन लागेको हो। जिल्लामा दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउँ खेती गरिएको छ। हरेक बर्ष एक हजार ५० मेट्रिकटन स्याउँ उत्पादन हुँने गरेको छ। यस वर्ष स्याउँको फुल फुल्ने समयमा असिना परेका कारण २५ प्रतिशत उत्पादन घटेको छ।