दशैँले पनि रोक्न सकेन परदेशीलाईः सीमाको भिडमा रहेकाहरु भन्छन्–‘मन थिएन मुग्लान पस्नलार्ई’ 
2020/09/27, 11:17
 
corona

विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सिमा नाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किनेको लर्को हुन्थ्यो । बर्षभरी मुगलानमा पसिना बगाएका नेपालीहरु दशगजामा पुग्दा दंग हुन्थे । तर अहिले ती सुदूरपश्चिमका अनुहार र पश्चिमी सिमा नाकाको दृश्य फेरिएको छ ।अहिले स्वदेश फर्किनको संख्या भन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या तीन गुणा बढी छ ।

2

कोरोना भाईरसको प्रभावले छाक टार्न मुस्किल भएपछि भारत जान लागेको बझाङका स्थानीय प्रयाग कोईरालाले बताए । ‘स्वदेशमै बसेपनि रोजगारी पाईने होईन,’ उनले भने, ‘पेट पाल्नकै लागि भए पनि जानुपर्ने भारत नै हो ।’ कोरोनाकै प्रभावका बिच गत असारमा घर फर्किएका उनी त्रिनगर–गौरीफन्टा नाका भएर भारत पसे । 

अहिले कहिल्यै भारत नगएका सुदूरपश्चिमवासी पनि रोजगारीका लागि भारत जान बध्य भएका छन् । नेपालीको महाड चाड दशैं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेको गौरीफन्टामा भेटिएका हरिश मल्लले बताए । ‘दशैं नजिकै आउदै गरेको भएपनि दैनिकी चलाउनै मुस्किल हुन लागेपछि भारत गईरहेको छु,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउँला भन्ने विश्वास छैन् । मुग्लान पस्नलाई मन थिएन । केही नभएपछि जानु नै पर्ने बाध्यता आयो ।’ असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै सात हजार प्रदेशवासी भारत परेका छन ।

2

सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो । सजिलै आउजाउ गर्न पाइने भएपछि सुदूरपश्चिमबाट ठूलो सङ्ख्यामा मानिसहरू गुजाराका लागि भारत जाने गर्दछन् । यसरी भारत गएकाहरू विगतका वर्षमा दशैँ मनाउन भनेर एक महिना अगाडि नै घर आउने गर्थे । दीपावलीपछि फर्किन्थे । तर यसपालि भने दृश्य फेरिएको छ । घर फर्किने बेला कामको खोजीमा भारत जानेको नाकामा लाइन छ । गत चैत देखि सुरु भएको कोरोना भाईरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए ।

1

झण्डै चार पाँच महिनाको स्वदेश बसाईपछि घर खर्च चलाउन समेत नसकिने भएपछि फेरी पनि भारत जानु परेको गुनासो उनीहरुको छ । न उनीहरुलाई सरकारको स्वरोजगारको कार्यक्रमले रोक्न सकेको छ न भारतमा बढि रहेको कोरोना भाईरसको त्रासले रोकेको छ । ‘चार महिना अगाडि यसै नाकाबाट कोरोना त्रासले घर फर्किएको थिए ।’ डडेल्धुरा अजयमेरुका प्रयाग टमटाले भने, ‘भारतमा अहिले कोरोना झनै बढेको छ तर छाक टार्नका लागि भएपनि भारत जानै प¥यो ।’ चाडपर्व परिवारसंगै मनाउने इच्छा भएपनि बाध्य भएर भारत जानपरेको तर्क उनको छ । 

कोभिड १९ महामारीले अवस्था फेरिएको हो । अधिकांश सुदूरपश्चिमेली चैतबाट नै हुलका हुल नेपाल फर्किए । भारतमा कोरोना महामारीको उकालो गति देखेर नेपाल फर्किएकाहरू नेपालमै बस्न भने ५ महिना पनि भ्याएनन् । वर्षकै ठूलो चाडको मुखमा परदेशिन बाध्य भइरहेका छन् । चाड भन्दा भोक ठूलो हो । खानलाई काम गर्नै प¥यो । स्वदेशमा काम पाइएन । अनि झोलाझिम्टी बोकेर, रोगको डरका बीच बाध्यतावश परदेशिएका हुन् । भारत जाने क्रममा सीमा भेटिएका डडेल्धुराका विमल नेपालीले भने, ‘रोगभन्दा भोक ठूलो हुँदो रहेछ भन्थे हो रहेछ ।

4

दशैँको मुखमा भारत जानु पर्दा खिन्न भएको छु ।’ गत भदौबाट रोग जिते पनि भोग जित्न नसकिने भन्दै उनीहरू फेरि भारत पस्ने क्रम फाटफुट सुरु भएको थियो । अहिले चाडबाडको मुखैमा झन् त्यो चटारो चुलिएको छ । गत जेठमा दैनिक पाँच हजारसम्म नेपाली स्वदेश फर्किएको गौरिफन्टा नाकाबाट अहिले दैनिक एक हजार जना फेरि भारत पस्न थालेका छन् । यसरी दशैँको मुखैमा भारत पस्नेहरू गरिबीको थिचोमिचोले मुगलान पस्ननुपर्ने बाध्यता आईलागेको बताउँछन् ।

गौरीफन्टा नाका सुदूरपश्चिमको प्रमुख नाका हो । विभिन्न ठाउँबाट भारत पस्न यहाँ आइपुगेकाहरूलाई लाइनमा बस्नुपर्ने हुन्छ । त्यहाँ भारततर्फ र नेपालतर्फका सुरक्षाकर्मीले उनीहरूको व्यवस्थापन गर्छन् । प्रायः जसो हरेक दिन नाकामा ठेलम ठेल लाइनमा हुन्छन् भारत पस्नेहरू । भारत पस्नेहरूको लाइनमा थिए कैलालीको लम्कीका अर्जुन विष्ट । उनलाई सोही नाका भएर घर फर्केको तीन महिना मात्रै भएको छ ।

उनी ३ महिनासम्म बेरोजगार बनेर बसेपछि ६ जनाको परिवार पाल्न स्वदेशमै गुजारा चलाउने विकल्प नदेखेर फेरि भारत जान थालेका हुन् । ‘घरमा न काम छ । काम नभएर पैसा पनि आउँदैन,’ उनी भन्छन्, ‘परिवारसँगै बसेर दशैँ मनाउने रहर त थियो । तर हामी गरिबलाई सधैँ सोचे जस्तो रहर पुरा गर्न कहाँ पाइन्छ र ? थप चार महिना बसेर घर जाउँला र दशैँ मनाउला भनेर सोचेका अर्जुनको सपनामा कोरोना कहरको तुसारापात भयो । उनलाई चार महिना अगावै घर फर्किनुप¥यो । अब घरमा खान लाउन समेत समस्या हुन थालेपछि दशैँ मनाउन भन्दा दैनिक छाक टार्नका लागि दशैंको मुखैमा फेरि भारत जानुपरेको उनी बताउँछन् ।

5

झन्डै चार महिनाको स्वदेश बसाईपछि घर खर्च चलाउन समेत नसकिने देखेर फेरि भारत जान थालेको कञ्चनपुरका जगदीश नाथले पनि सुनाए । स्वदेशमा न त रोजगारी छ त अब पाइने आश छ । त्यसैले उनी पनि चाडँबाडँको मुखैमा भारत पस्ने लाइनमा लागे । असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झन्डै ७ हजारभन्दा बढी भारत प्रस्थान गरेका छन् । सशस्त्र प्रहरीको तथ्याङ्क अनुसार असोज १ मा ५ सय बढी, २ गते नौ सय ६४ जना, ३ गते नौ सय ४६ जना, ४ गते एक हजार ३६ जना, ५ गते एक हजार २ सय ८७ जना, ६ गते एक हजार ६ सय नौ जना र ७ गते एक हजार भन्दा बढी सुदूरपश्चिमेलीहरु भारत पसेका छन् ।