सुदूरपश्चिमका १४६ प्रहरीमा कोरोना पुष्टि, कैलालीमा सबैभन्दा धेरै ११० संक्रमित
2020/09/27, 11:29
 
police corona

सुदूरपश्चिम प्रदेशमा झण्डै डेढ सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सम्म प्रदेशका विभिन्न जिल्लामा रहेका कार्यालयमा कार्यरत सिपाहीदेखि सई सम्मका एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले प्रदेशभर शनिबार सम्म एक सय ४६ प्रहरीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार कैलालीमा सबैभन्दा धेरै एक सय १० जना प्रहरी संक्रमित छन्। सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना,  जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एक जनामा संक्रमण देखिएको निमित्त प्रमुख वरिष्ठ प्रहरी नायब उपरिक्षक सिहले बताए।

उनका अनुसार संक्रमण पुष्टि भएका मध्ये ५३ जना संक्रिय संक्रमित रहेका छन् भने ५७ जना प्रहरीले कोरोना जितेका छन्। यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६ जना, अछामका ७ जना, डोटीका तीन जना, दार्चुलाका दुई जना, बैतडीका एक जना र बझाङका एक जना प्रहरी संक्रमित छन्।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ। प्रदेशभर ८८ जना प्रहरीले कोरोना जितिसकेका छन् भने ५८ जना संक्रिय संक्रमित छन्।