डडेल्धुराको रुपालमा सशस्त्रको बीओपी स्थापना
2020/09/29, 2:49
 
korona

 भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए।

उनले सीमा सुरक्षा, सीमा स्तम्भहरुको संरक्षण र सीमामा हुने आपराधिक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएकोे हो भने। राज्यले सङ्गठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न पोष्टमा खटिएका प्रहरीलाई समेत उनले निर्देशन दिए। 

भारतसँग सीमा जोडिएका डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा यसअघि नै सशस्त्र प्रहरीको बीओपी स्थापना भइसकेका छन्। सेल्टुडामा बिओपी स्थापना भएसँगै नेपाल भारत सीमामा हुन सक्ने चोरी सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने विश्वास लिइएको छ। बिओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताए। सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटनामा नियन्त्रण गर्नका लागि सहज हुने विश्वास उनको छ। 

नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनदेखि नै चोरी सिकारी हुने गरेको स्थानीयवासी बताउँछन्।