दार्चुलामा हतियार बुझाउने क्रम बढ्दो
2020/09/30, 2:07
 
gun

भदौ २२ गते नौगाड गाउँपालिका ४ का विक्रमसिह धामीलाई अपि नाम्पा संरक्षण क्षेत्रबाट फर्किने क्रममा प्रहरी चौकी सिप्टीले भरुवा बन्दुकसहित पक्राउ गर्यो। पक्राउ लगत्तै प्रहरीले धामीविरुद्ध मुलुकी अपराध संहिताको भाग २ परिच्छेद ६ को दफा १३२ बमोजिम इजाजत पत्र बीना हातहतियार राख्न वा लिएर हिड्न नहुने कसुरमा अपराध कारवाही प्रक्रिया अघि बढायो। 

सरकारले २०७५ फागुन २८ गतेको निर्णय अनुसार नेकपा विप्लव समूहलाई प्रतिबन्धित समूह घोषणा गरी जिल्लामा शान्ति सुरक्षा कायम गराउन इजाजत प्राप्त हतियार सम्बन्धित प्रहरी चौकीमा बुझाउन निर्देशन गरेको थियो।

त्यसअवधिमा जिल्लामा १ सय १९ थान मात्रै हतियार संकलन गरिएको थियो। धेरै व्यक्तिले आफुसँग भएको हतियार प्रहरीमा बुझाउन मानेका थिएनन्। तर प्रहरीले हतियारसहित पक्राउ परेका व्यक्तिलाई मुद्धा दर्ता गराएपछि अहिले स्थानीयले आफै प्रहरी चौकीमा हतियार बुझाउन थालेका छन।

नौगाड गाउँपालिकाका एक जना व्यक्तिमा मुद्धा लगाउने वित्तिकै मंगलबारसम्म ११ जनाले हतियार प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले बताए। ‘यसअघि कोहि पनि कार्वाही परेका छैनन् भन्ने भएर होला पटकपटक सूचना गर्दा पनि हतियार बुझाएका थिएनन्’  डिएसपी विष्टले भने, ‘कारवाहीपछि स्वयं व्यक्ति प्रहरीमा पुगेर हतियार बुझाउँदैछन्।’ 

प्रहरीले हातहतियार नियन्त्रणमा कडाइ गरेपछि दुहुँ गाउँपालिका १ को सामुदायिक वनभित्र बाट एक नाल अवैध हतियार फेला पारेको थियो। अहिले आएर सकेसम्म स्थानीयले नजिक प्रहरी चौकी पुगेर हतियार बुझाउन थालेका छन्। अझै पनि जिल्लामा साना ठूला के कति हतियार छ भन्ने बारेमा तथ्यांक नभएको प्रहरीले जनाएको  छ।