बैंकका कर्मचारीमा कोरोना देखिएपछि दुई वटा बैंकको सेवा बन्द
2020/10/01, 8:33
 
corona

कञ्चनपुरको बेलौरीमा रहेको बैंक अफ काठमाण्डौ बेलौरी शाखामा कार्यरत एक जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि बैंक अफ काठमाण्डौ बेलौरी शाखा र संगै जोडिएको राष्ट्रिय वाणिज्य बैंक बेलौरी शाखाले केही दिनका लागि सेवा बन्द गरेका छन् । सेती प्रादेशिक अस्पतालको दैनिक कोभिड १९ अपडेटमा बैंक अफ काठमाण्डौ बेलौरी शाखामा कार्यरत एक जना कर्मचारीमा समेत कोभिड १९ को संक्रमण देखिएको छ ।

संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु र सोही भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक बेलौरी शाखाका कर्मचारीहरुको पिसिआर जाँच गरी रिपोर्ट नेगेटिभ नआएसम्मका लागि ७ दिनसम्म सेवा बन्द गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग गरिदिन बेलौरी नगरपालिकाले दुई वटै बैंकका शाखाहरुलाई परिपत्र गरेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले जानकारी दिए ।

नगरपालिकाको अनुरोध पछि दुई वटै बैंकहरुले सेवा प्रवाह बन्द गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक शाखा बेलौरीका शाखा प्रबन्धक महेश राज भट्टले एटिएम सेवा बाहेक अन्य सम्पूर्ण सेवा १५ गतेदेखि सात दिनसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।