सुदूरपश्चिममा सीमा नाका बन्द हुँदा पेन्सनधारी कर्मचारीलाई समस्या
2020/10/02, 2:58
 
corona

सुदूरपश्चिममा भारतीय सीमा नाका बन्द हुँदा पेन्सनधारी कर्मचारीलाई समस्या भएको छ। कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैतदेखि बन्द गरेका सीमा नाका नखुलेपछि बैतडी सहित सुदूरपश्चिमका पेन्सनधारी कर्मचारी समस्यामा परेका हुन्।

भारतीय सेना, विभिन्न तहमा रहेर सरकारी सेवा गरेका सेवा निवृत्त भएका नेपालीलाई नाका बन्दका कारण पेन्सन बुझ्न समस्या भएको हो।  सीमा नाका बन्द भएका कारण पेन्सन बुझ्न भारत जान नपाउँदा घर खर्च चलाउन मुस्कील हुन थालेको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जितसिंह थापाले बताए।

पेन्सनधारी कर्मचारीलाई लक्षित गरी नाकामा आवागमन सहज गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको बताउँदै उनले मागमाथि सुनवाई समेत नभएको जनाए। ‘बैतडीको झुलाघाट नाका तीन महिला पहिले तीन दिनका दागि मात्र खोलिएको थियो।’ उनले भने, ‘तर त्यो बेला सबै पेन्सनधारीले बुझ्न पाएनन्।’

उनका अनुसार बैतडीमा एक हजार दुई सय जना भारतीय पेन्सनधारी कर्मचारी छन्। तीन महिना पहिले चार सय ३८ जनाले मात्र पेन्सन बुझेका छन्।

जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका बन्द भएका कारण पेन्सनधारी कर्मचारी समस्यामा परेको कुरा माथिल्लो निकायलाई जानकारी गराईसकेको जनाएको छ।

तर नाका खोल्ने विषयमा दुवै देशको सहमती चाहिने भएकाले  पेन्सनधारीको समस्याबारे सरकारलाई लिखित र मौखिक जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।